एक वृद्ध मानिस आफ्नो नातिलाई जीवनोपयोगी शिक्षा दिन चाहन्थे । त्यसैले उनले एउटा कथा बताए । उनले आफ्ना बालक नातिलाई भने, ‘म भित्र दुई ब्वाँसाको एउटा भीषण लडाइँ चलिरहेको छ ।’ ‘एउटा ब्वाँसो एकदमै खराब छ । त्यो ज्यादै दुराशययुक्त, रिसाहा, लोभी, घमन्डी र अभिमानी छ । अर्काेचाहिँ असल प्रवृत्तिको छ । त्यसको हृदय शान्ति, प्रेम, आनन्द, दया र मानवताले ओतप्रोत छ ।’ ‘तिमीभित्र र पृथ्वीका हरेक मान्छेको हृदयमा यस्तै लडाइँ चलिरहेको हुन्छ ।’
आफ्ना बयोवृद्ध हजुरबुबाको कुरा सुनेर त्यस बालक नाति एकछिन गहिरो सोचमा पर्छ र त्यसपछि सोध्छ, ‘हजुरबुबा यो लडाइँ कुन ब्वाँसोले जित्छ त ?’
वृद्ध मुस्कुराउँछन् र बिस्तारै जवाफ दिन्छन्, ‘यी दुईमध्ये जुन ब्वाँसोलाई तिमी खाना खुवाउँछौ त्यसैले यो लडाइँ जित्नेछ ।’अर्थात्, असल र खराब दुवैखाले भावना हामीभित्र सधैँ मडारिरहेका हुन्छन् । यो यथार्थलाई स्वीकार गर्ने र असलपनलाई पोषित गर्ने हरसम्भव प्रयास गर्नु नै हाम्रो जिम्मेवारी हुन्छ ।
यदि हामीले खराब भावनालाई खुराक दियौँ भने हामीभित्रको खराबीले लडाइँ जित्नेछ । हामीले असल भावना र विचारलाई खुराक दिइरह्यौँ भने हामीभित्रको असलपन सबल हुँदै जान्छ र यसले खराबपनलाई जित्नेछ र हाम्रा बानी–व्यवहार पनि असल रूपमा अभिव्यक्त हुनेछन् ।