चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालू खाता रु. २९ अर्ब ६४ करोडले घाटामा छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालू खाता घाटा घटेको देखिएको हो।
आर्थिक वर्ष ०७८/७९ को माघसम्ममा चालू खाता रु. चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो।
यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ। माघ मसान्तसम्ममा शोधनान्तर स्थिति रु. एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो।
त्यसैगरी चालू आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी रु. एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले रु. १६ अर्ब २९ करोडबराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो।