नेपालको ५० रन पूरा, रोहित र भीम संघर्ष गर्दै

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण
नेपालको ५० रन पूरा, रोहित र भीम संघर्ष गर्दै

धरासायी बनेकाे नेपाली ब्याटिङ सम्हाल्ने प्रयासमा कप्तान राेहितकुमार पाैडेल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत अहिले नेपाल र युएईबीच खेल भएरहेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ । यसबीच नेपालले १८औँ ओभरमा तीन विकेटको क्षतिमा ५० रन पूरा गरेको छ ।

२२ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएको नेपालका लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र मिडलअर्डर ब्याटर भीम सार्की संघर्ष गरिरहेका छन् । 

रोहितले ४८ बलमा १९ रन र भीमले २७ बलमा १४ रन बनाएर खेलिरहेका छन् ।

युएईसँगको महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ पहिलो ओभरदेखि नै धराशायी बनेको थियो । आठ ओभरभित्र नेपालले तीन विकेट गुमाएको थियो । 

ओपनरद्वय आसिफ शेख, कुशल मल्ल र अपअर्डर ब्याटिङमा प्रमोसन पाएका कुशल मल्ल युएईका बलरसामु टिक्न नसकेपछि नेपाली ब्याटिङ धराशायी बनेको हो । 

पाँच बल खेलका आसिफ शून्य, १५ बलको सामना गरेका कुशल भुर्तेल आठ र १५ बल नै खेलेका कुशल मल्ल नाै रन बनाएर आउट भए । 

अघिल्ला खेलमा सानदार फर्ममा रहेका आसिफलाई आर्यन लाक्राले एलबिडब्लू धरापमा पारे भने कुशल भुर्तेल आयन अफजल खानको बलमा एलबिडब्लू नै आउट भए । जुनैद सिद्धिकीको बलमा संयम गुमाई अनावश्यक ठूलो सट खेल्ने प्रयास गर्दा कुशल मल्ल मोहम्मद वसिमको हातबाट सहज क्याच आउट भए । 

पछिल्ला केही म्याचमा सानदार ब्याटिङ गरेका आसिफ र कुशल मल्लले आज निराश बनाएका छन् । यस्तै, पछिल्ला केही इनिङमा राम्रो रन बन्न नसकिरहेका वेला कुशल भुर्तेलले अवसर गुमाए । 

टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय पूर्णतः गलत साबित भएको छ । यसअघिका खेलमा नेपालले टस जितेपछि पहिले फिल्डिङ रोजेर लक्ष्य पछ्याउने गरेको थियो । 

स्कटल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र युएईसँगका पछिल्ला आठ खेलमा लक्ष्य पछ्याउँदा नेपालले आठमा जित हात पारेको थियो । युएईसँग मात्र दुई सय रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेको थिएन । 

सुझावित समाचार