आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ धराशायी बनेको छ ।
आठ ओभरभित्र नेपालले तीन विकेट गुमाइसकेको छ । ओपनरद्वय आसिफ शेख, कुशल मल्ल र अपअर्डर ब्याटिङमा प्रमोसन पाएका कुशल मल्लले युएईका बलरका सामु घुँडा टेकेका छन् ।
पाँच बल खेलका आसिफ शून्य, १५ बलको सामना गरेका कुशल भुर्तेल आठ र १५ बल नै खेलेका कुशल मल्ल नाै रन बनाएर आउट भएका छन् ।
अघिल्ला खेलमा सानदार फर्ममा रहेका आसिफलाई आर्यन लाक्राले एलबिडब्लू धरापमा पारे भने कुशल भुर्तेल आयन अफजल खानको बलमा एलबिडब्लू नै आउट भए । जुनैद सिद्धिकीको बलमा संयम गुमाई अनावश्यक ठूलो सट खेल्ने प्रयास गर्दा कुशल मल्ल मोहम्मद वसिमको हातबाट सहज क्याच आउट भए ।
पछिल्ला केही म्याचमा सानदार ब्याटिङ गरेका आसिफ र कुशल मल्लले आज निराश बनाएका छन् । यस्तै, पछिल्ला केही इनिङमा राम्रो रन बन्न नसकिरहेका वेला कुशल भुर्तेलले अवसर गुमाएका छन् ।
टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय पूर्णतः गलत साबित भएको छ । यसअघिका खेलमा नेपालले टस जितेपछि पहिले फिल्डिङ रोजेर लक्ष्य पछ्याउने गरेको थियो ।
स्कटल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र युएईसँगका पछिल्ला आठ खेलमा लक्ष्य पछ्याउँदा नेपालले आठमा जित हात पारेको थियो । युएईसँग मात्र दुई सय रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेको थिएन ।