युएईलाई हराए एकदिवसीय मान्यता

त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराएको खण्डमा नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउनेछ

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण
युएईलाई हराए एकदिवसीय मान्यता

फाइल तस्बिर

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दै छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । आजको खेल जित्दै नेपाल आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन चाहन्छ । साथै, विश्वकप छनोटको सम्भावना कायम राख्नेछ । हारले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ ।

एकदिवसीय मान्यतालाई बाँकी दुईमध्ये एक खेलमा जित अनिवार्य निकाल्नुपर्नेछ । लिग–२ मा ३३ खेलबाट १६ जितसहित ३४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेपालले पछिल्ला नौमध्ये आठ खेलमा जित निकालेको छ ।नेपालको जितले युएईको एकदिवसीय मान्यता धरापमा पर्नेछ । शीर्ष तीनको दौडबाट युएई बाहिरिसकेको छ । युएई ३३ खेलबाट ३१ अंकका साथ छैटौैँ स्थानमा छ । 

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई ५२ रनले हराएको थियो । पिएनजीले दोस्रो खेलमा युएईलाई ५६ रनले हराएपछि नेपाली खेलाडीको मनोबलसमेत उच्च छ । पछिल्लो खेलमा नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

युएईविरुद्धसमेत सोही खेल प्रदर्शन गर्नेमा कप्तान रोहितकुमार पौडेल आशावादी छन् ।‘हामीले बाँकी खेलमा समेत यस्तै प्रदर्शन गर्छौं र आफ्नो लक्ष्य पूरा गर्नेछौँ,’ रोहितले पिएनजीविरुद्धको जितपछि भनेका थिए । पिएनजीविरुद्ध कीर्तिमानी लक्ष्य प्रस्तुत गर्दा ओपनर तथा ब्याट्सम्यान आसिफ शेखले खेलजीवनकै पहिलो शतक बनाएका थिए । प्लेयर अफ दी म्याच आसिफले एक सय १० बलमा एक सय १० रन बनाएका थिए । उनी दोस्रो खेलमा समेत लय कायम राख्ने योजनामा छन् । बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । सन्दीपले पिएनजीविरुद्ध चार विकेट लिएका थिए । 

सुझावित समाचार