आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम शृंखलाको दोस्रो म्याचमा अहिले युएई र पपुवा न्युगिनी (पिएनजी) भिडिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले युएई दुई सय ४७ रनको लक्ष्य पछ्याइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ४६ रनको ठूलो लक्ष्य खडा गरेको थियो ।
चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको युएईले २० ओभरमा तीन विकेट गुमाएर एक सय रन पूरा गरेको छ ।
निकै ठोस सुरुवात गरे पनि २२ रनको अन्तरमा तीन विकेट गुमाएपछि युएई दबाबमा छ । लिग टेबलमा छैटौँ स्थानमा रहेको युएई जारी शृंखलाका चारमध्ये कम्तीमा तीन खेल जित्दै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायमै राख्न चाहन्छ ।
त्यसो त आफूअनुकूल परिणाम आएको अवस्थामा युएईसँग आगामी विश्वकपको छनोट प्रतियोगितामा सीधै पुग्ने अवसर पनि बाँकी छ । तर, त्यसका लागि उसले आफ्ना सबै खेल जित्नैपर्ने हुन्छ । त्यसपछि पनि रनरेटबाट मात्र टुंगो लाग्नेछ ।
आजको खेलमा टस जितेर युएईले पिएनजीलाई ब्याटिङमा बोलाएको थियो । पिएनजीका शीर्षक्रमका तीन ब्याटरले अर्धशतकीय इनिङ खेलेपछि स्कोर दुई सय ४६ रन पुगेको हो ।

पिएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । एक सय ६ बलको सामना गरेका उनले दश चौका प्रहार गरे ।
यस्तै, ओपनरद्वय हिरी हिरीले ८५ बलमा ७७ र किप्लिन डोरिगाले ४४ बलमा ५५ रनको आक्रामक इनिङ खेले । हिरी हिरीले चार छक्का र पाँच चौका तथा किप्लिनले दुई छक्का र आठ चौकाको सहायतामा अर्धशतक पूरा गरे ।
एक सय ८४ रनमा दोस्रो विकेट गुमाएको पिएनजीले थप ५८ रन जोड्दा सात विकेट गुमायो ।