आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। लिग – २ को अन्तिम शृंखलाको पहिलो म्याचसम्म आइपुग्दा नेपालले आफूलाई लगातार सुधार गर्दै अब्बल नतिजा दिएको छ।
लगातार खेलिएका तीन शृंखलामा नेपाल उत्कृष्ट फर्ममा देखिएको छ। यसअघिका दुई शृंखलाका आठ र अन्तिम शृंखलाअन्तर्गत आजको पहिलो म्याच गरी नेपालले नौ खेलमध्ये आठमा जित हासिल गरेको छ।
युएईमा भएको शृंखलामा नेपाल युएईसँग एक खेलमा पराजित भएको थियो। दुई सय ७ रनको सामान्य लक्ष्य पछ्याउन सकेको थिएन। त्यसअघि नेपालमै भएको शृंखला नेपालले चारै खेल जिती क्लिन स्विप गरेको थियो।
अन्तिम शृंखलामा पनि नेपालले चार खेल खेल्नुपर्नेछ। पहिलो खेल जितिसकेको छ। आजको खेल जितेपछि दुई अंक बटुल्दै नेपालले लिगमा ३३ खेलबाट ३४ अंक हासिल गरेको छ।
बाँकी तीन खेलमा पनि शतप्रतिशत नतिजा निकाल्न सके नेपाल अर्को वर्ष भारत आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगताका लागि सीधै छानिनेछ।
यस्तै, अब तीनमध्ये एक खेल जिते नेपालले एकदिवसीय मान्यता कायम राख्न सफल हुनेछ।