नेपालले दियो २९८ रनको लक्ष्य, पिएनजीविरुद्ध आसिफको शतक

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

आसिफ शेखको मेडन शतकको मद्दतमा नेपालले पपुवा न्युगिनीलाई दुई सय ९८ रनको लक्ष्य दिएको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत आजबाट सुरु त्रिदेशीय शृंखलाको पहिलो म्याचमा नेपालले ४९.१ ओभरमा अलआउट हुँदै दुई सय ९७ रन बनायो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको थियो । पुनः टिममा फर्किएका कुशल भुर्तेल र आसिफ शेखले नेपाली इनिङ सुरु गरेका थिए । 

दुवै ओपनरले उत्कृष्ट सुरुवात दिलाए । यी दुईबीच पहिलो विकेटका लागि एक सय १० रनको साझेदारी भएको थियो । आसिफले आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरे । 

युएईमा भएको पछिल्लो सिरिजमा पपुवा न्युगिनीविरुद्धको अन्तिम म्याचमा नटआउट ८६ रन बनाएका आसिफले आज कीर्तिपुर मैदानमा एक सय दश रनको इनिङ खेले । यसक्रममा उनले दुई छक्का र १२ चौका प्रहार गरे । पिएनजीका फिल्डरबाट दुईपटक जीवनदान पाएका आसिफले त्यसको भरपूर लाभ उठाए । 

यी २१ वर्षीय विकेटकिपर ब्याटरले यसबीच एकदिवसीय म्याचमा एक हजार रन पनि पूरा गरे । ७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफले ३२औँ म्याचमा एक हजार रन पूरा गरेका हुन् । 

उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । एकदिवसीयमा सबभन्दा धेरै रन बनाउने रेकर्ड कप्तान रोहितकुमार पौडेलको नाममा छ । 

अर्का ओपनर कुशलले ५६ बलमा ४५ रन बनाए । यस्तै, अर्का २१ वर्षे युवा क्रिकेटर भीम सार्कीले पनि ४४ रनको महत्वपूर्ण योगदान दिए । भीमले ३८ बलमा चार चौकाको मद्दतमा मध्यक्रममा पुनः सम्भावना रहेको ब्याटरका रूपमा आफूलाई उभ्याए । 

कप्तान रोहितकुमार केसीले राम्रो सुरुवात गरे पनि इनिङलाई लामो समय टिकाउन सकेनन् । उनले ३९ बलमा ३० रन बनाए । सबैभन्दा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल पुनः एकपटक असफल साबित भए । 

कुशल मल्लले दुई, दीपेन्द्रसिंह ऐरीले सात, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात र सोमपाल कामीले चार रन बनाए । सोमपाल अविजित रहे । 

आजको खेलमा ओपनर ब्याटरले सुदृढ सुरुवात गरे पनि मध्यक्रम धर्मराउँदा नेपाल ४९औँ ओभरको पहिलो बलमा अलआउट हुन पुग्यो । नेपाली ब्याटरले सम्हालिएर खेलेको भए स्कोर सवा तीन सयसम्म पुग्ने सम्भावना थियो । 

पिएनजीको तर्फबाट सेमो किमियाले पाँच तथा रिले हिकुरेले तीन विकेट लिए । 

सुझावित समाचार