असली हिराको पहिचान

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

जाडोको समयमा राजाले राजसभा दरबारबाहिरको चौरमा बसाएका थिए । भर्खरै घाम लागेको हुनाले मौसम न्यानो थियो । त्यसै समयमा एक अपरिचित मानिस प्रवेशको अनुमति मागे । राजाले उनलाई अनुमति दिए । 

नवागन्तुकले आफ्नो परिचय दिँदै भने– महाराज, मसँग यस्ता चार वस्तु छन्, जो देख्दा समान छन् । तर, चारमध्ये एक बहुमूल्य हिरा हो भने बाँकीचाहिँ सामान्य काँच । यहाँ कसैले हिराको पहिचान गर्यो भने यो बहुमूल्य हिरा हजुरको हुनेछ र कसैले पहिचान गर्न सकेन भने मलाई हजुरले यसको मूल्यबराबर रकम दिनुपर्नेछ । उनले चारवटै वस्तुलाई राजाको अगाडि जतनसाथ राखिदिए । 

राजाले यसो हेरेर भने– चरवटै वस्तु एकैजस्ता छन् । त्यसैले, म यो पत्ता लगाउन सक्दिनँ । मन्त्रीले पनि असमर्थता जनाए । अरूले पनि हिम्मत गरेनन् । राजासित धनको कमी थिएन । पत्ता लगाउन नसके धन दिन तयार थिए । तर, पत्ता लगाउन नसके प्रतिष्ठामा आँच आउन सक्ने हुनाले सबै हच्किए । 

त्यसै समयमा एक दृष्टिविहीन वृद्ध दरबारमा आइपुगे । उनले भने– महाराज ! म जन्मजात दृष्टिविहीन हुँ । तर, हजुरले यहाँ राखिएका वस्तुलाई छोएर परख गर्ने अनुमति दिनुभयो भने एकपटक प्रयास गरौँ कि ? राजाले अनुमति दिएपछि ती वृद्धले पालैपालो ती चारवटै वस्तुलाई छोए । अन्त्यमा उनले एउटा वस्तुलाई उठाएर भने– महाराज ! यही हो असली हिरा । हिरा ल्याउने मानिसले शिर झुकाएर स्विकारे– महाराज ! उहाँले हिराको सही पहिचान गर्नुभएको छ । सर्तबमोजिम यो हिरा अब हजुरको भयो । 

दृष्टिविहीन वृद्धले असली हिरा पत्ता लगाएको देखेर सबै छक्क परे । वृद्धले भने– महाराज ! हामी सबै घाममा छौँ । मैले छुँदा यी चारमध्ये जुन चिसो थियो, त्यो नै हिरा थियो । जुन संकटमा पनि शान्त रहन्छ, ऊ नै हिरा हो र जो कुरैकुरामा तातिरहन्छ, त्यो काँच हो । राजाले वृद्धको बसोवास र खानपिनको सम्पूर्ण व्यवस्था मिलाएर बिदा गरे ।

सुझावित समाचार