रुपन्देहीको सैनामैनामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका– २ उछिटिहवास्थित बाबरी पार्टी प्यालेसबाट करिब सय मिटर पश्चिमतर्फ रहेको प्लटिङमा एक युवा मृत अवस्थामा फेला परेका हुन्।
पहाडी मूलका जस्ता देखिने उनी अन्दाजी ४० वर्षका रहेकाे प्रहरीको भनाइ छ। टाउकोमा धारिलो वस्तु प्रहारको चोट देखिएको र मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देही र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कुकुरसहितको टोली परिचालन गरी घटना सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटना अनुसन्धानका क्रममा तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको छ। जिप्रका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृतकको पहिचान हुन सकेको छैन।