स्कुटर र मोटरसाइकल ठोक्किँदा हेटौँडामा एकजनाको मृत्यु

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १७ हटियास्थित कठायत चोकमा स्कुटर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा परी घाइते भएका हेटौँडा– १८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जनको मृत्यु भएको हो । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

दुर्घटनामा स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका– ८ शान्तिपुरकी ललिता मगर, नुवाकोट जिल्ला ककनी गाउँपालिका– ४ घर भई हाल बागमती गाउँपालिका बस्दै आएकी जिना लामा र मोटरसाइकलमा सवार हेटौँडा– १८ भालुखोलाका दीपक घलान घाइते भएका छन् ।

घाइतेमध्ये दीपकको हेटौँडामा तथा ललिता र जिनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बुधबार बिहान  हेटौँडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा.६४प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र. ०३–०५ प ७११ नम्बरको स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

सुझावित समाचार