गुल्मीका सुरेन्द्र थापा २८ वर्षका भए । उनी सुन्न र बुझ्न सक्छन्, तर बोल्न सक्दैनन् । हातखुट्टा सुकेका छन् । न टेक्न सक्छन्, न त समाउन । जन्मिएर पनि आफ्नै घरमा दरिलो गरेर उभिन पाएनन्, सुरेन्द्रले । आमा ५८ वर्षीया राधाले जेठा छोरासँग कहिल्यै दुःख साट्न पाइनन् । दैनिक आँखा जुधे पनि मनका कुरा भन्न सक्दिनन्, छोरालाई ।
सुरेन्द्र जन्मजात अपांग छन् । नमिठो र अप्ठयारो हुँदा पनि अभिव्यक्त गर्न सक्दिनन् । २४ सै घन्टा परिवारको नजर चाहिन्छ । उठाउने, सुताउनेदेखि दिसापिसाब सबै गराउनुपर्छ । असजिलो जीवन त्यसैमाथि लडेर खुट्टा भाँचियो । सुरेन्द्रले पीडामाथि पीडा खेपे । परिवारलाई डेढ–दुई लाखको क्रण थपियो ।
सुरेन्द्र ०५१ सालमा जन्मिएका हुन् । उनको पालनपोषणमा परिवारले २८ वर्ष बिताए । न सन्चो हुने न छोड्न मिल्ने थापा परिवारसँग कैयौँ अमिला अनुभव र दुःख छन् । ‘पीडा पर्नेलाई मात्रै थाहा हुन्छ । छोराकै हेरचाहमा बैंस गुम्यो बुढेसकालमा के गर्ने सोच्न सकिरहेकी छैन,’ आमाले भनिन्, ‘देखेको पाइएन लेखेको भोग्दै छौँ ।’ सुरेन्द्र सात वर्षको हुँदा काठमाडौं कान्ति अस्पताल लगे पनि उपचार नहुने भएपछि परिवारले विवशता स्वीकार गरेको छ ।
सहयोगको याचना
सामान्य आर्थिक अवस्थाको थापा परिवार । गाउँमा उद्यमको उपाय छैन । राधा र श्रीमान् जयप्रताप थापा घरायसी काम मात्रै गर्छन् । सुरेन्द्रपछि एक छोरा र एक छोरी छन् । अरू सन्तानमा शारीरिक समस्या नभएकाले सुरेन्द्रको भोलिको भविष्यले राधालाई पिरोल्छ । उनले छोराको हेरचाहसँगै गर्न मिल्ने उद्यम र बजेट सहयोग भए काम गर्ने बताइन् । थापाले बाबुलाई फोल्डिङवाला बेड आवश्यक परेको सुनाइन् । ‘एकजनाले छोरा छोड्नै मिल्दैन । छोरासँगै बसेर केही गर्न पाए बुढेसकालमा केही सजिलो हुन्थ्यो कि भन्ने लाग्छ,’ उनले भनिन्,’ सक्नेले त गरेर खान्छन् अपांग छोराको बढी चिन्ता छ ।’
चोट देख्दैन् नेता र सरकार
थापा परिवारले व्यवस्था परिवर्तनका लागि थुप्रै पटक भोट दिए । उनीहरूले घरघरमा भोट माग्न आउने स्थानीयदेखि केन्द्रीय नेतालाई ओछ्यानमा लडेको छोरा देखाए । भोटले नेता र सत्ता फेरिए । बहुदल, लोकतन्त्र र गणतन्त्र आयो । तर, अपांग र अपांगता भएका परिवारको अवस्था फेरिएन ।
राधालाई सरकार र नेताबाट केही आशा छैन । कोभिडको वेला घरमै खोप लगाउन आग्रह गर्दा पनि कसैले नपत्याएर एम्बुलेन्स रिजर्भ गरेको स्मरण गर्दै सुख र परिवर्तनको आशा नभएको बताइन् । ‘मेरो अवस्था नदेख्ने सायद कुनै नेता छैनन् । भोट दिएपछि चोट आफैँलाई हो,’ उनले भनिन् ।
नागरिकताविहीन
२८ वर्षीय सुरेन्द्र नागरिकताविहीन छन् । तत्कालीन महिला विकास हुँदादेखि नै ‘क’ वर्गको अपांग परिचयपत्र भने लिएका छन् । अहिले मासिक चार हजारका दरले सामाजिक सुरक्षा भत्ता लिएका छन् । नागरिकता भने बनाएका छैनन् ।
नागरिकता पाउने उमेरले १०–१२ वर्ष बढी हुँदा पनि नागरिकता बनाएका छैनन् । उपयोग नहुने र शारीरिक समस्याको कारण प्रशासन आउ–जाउ गर्न मुस्किल हुँदा नागरिकता नबनाएको आमा राधा थापाले बताइन् ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले परिवारलाई कागजी प्रक्रिया पूरा गर्न लगाएपछि घरमै गएर नागरिकता प्रदान गरिने बताए । त्यसबाहेक परिवारलाई उद्यम र सुरेन्द्रको जीवनयापनमा सहजीकरणका उपाय खोजिने बताए ।