नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । ओपनर कुशल भुर्तेल टिममा फर्किएका छन् । सन्दीप जोरा वैकल्पिक खेलाडीमा परेका छन् । नेपाल, युएई र पपुवा न्युगिनीबीच नेपालमा २५ फागुनदेखि विश्वकप लिग–२ को अन्तिम सिरिज हुँदै छ । यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण साबित हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चारमध्ये दुई खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ । चारै खेलमा जित हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।
यसअघि, नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाबीचको सिरिजको चारै खेलमा जित हात पारेको थियो ।
लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । विश्वकप लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक र चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ । पाँचौँ स्थानमा उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ । युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, ललित राजवंशी वैकल्पिक– सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद