कालीगण्डकी प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारण लाइन निर्माणमा पर्वतको फलेवासमा स्थानीयको अवरोधका कारण चारवटा टावर निर्माण हुन सकेका छैनन् । तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै उनीहरूले निर्माणमा अवरोध गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि प्रसारण लाइन महत्वपूर्ण रहेकाले अवरोध नगरिदिन आग्रह गरेका छन् । प्रसारण लाइनको टावर सार्न सम्भव भए–नभएको विषयमा प्राविधिक टोलीले चार–पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३, भूमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी रहेको छ । 

सुझावित समाचार