सहिद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब जावलाखेल युथसँग स्तब्ध बन्यो । अनुभवी र राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको मच्छिन्द्रको डिफेन्स, अट्याकिङ पक्ष निकै कमजोर बन्यो । जसको असर नतिजामा पर्यो । जावलाखेल हरेक क्षेत्रमा सफल देखियो । लगातार दबाब सिर्जना गर्दा ललितपुरे टोलीले मच्छिन्द्रलाई सहजै पराजित गर्यो ।
पहिलो हाफमा मच्छिन्द्रले एक गोल गरेको थियो । रक्षक देभेन्द्र तामाङले सेट पिसमा गोल गरे । देभेन्द्रको फ्रिकिक सीधै गोलमा परिणत भएको थियो । पहिलो हाफको अग्रतापछि मच्छिन्द्र खेलमा पकड बनाउन प्रयासरत थियो । तर, जावलाखेलका युवा खेलाडीले अब्बल प्रदर्शन गरेपछि थकित मछिन्द्रको केही सीप लागेन । ‘खेलाडीको चोट नै मुख्य समस्या हो । लगातारको खेलपछि खेलाडी घाइते भएका छन्,’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवाल भन्छन् ।
एक प्रकारले प्रवेश कटवालको कुरा पनि सही हो । लिगको पूर्वसन्ध्यामा आयोजना भएका नकआउट फुटबलमा मच्छिन्द्र निकै व्यस्त रह्यो । एकै मितिमा केपी ओली कप र भद्रपुर झापा गोल्डकपमा सहभागी भएपछि मच्छिन्द्रले विश्राम नै पाएन । खेलाडी थकित थिए । मच्छिन्द्रको व्यवस्थापन टोलीले एकै खेलाडीलाई ७२ घन्टामा चार खेल खेलाएको थियो ।
त्यो पनि सेमिफाइनल र फाइनलजस्तो अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्तमा । लगातारको खेलपछि मच्छिन्द्रका प्रमुख खेलाडी घाइते भएका छन् । नेपाली खेलाडी मात्रै हैन, विदेशी खेलाडीसमेत घाइते हुँदा मच्छिन्द्र मानसिक रूपमै दबाबमा छ । मच्छिन्द्रले विमल घर्तीमगरलाई पहिलो खेलमा गुमाएको छ । यसैगरी, विदेशी खेलाडी दयानन्द सिंह र आन्द्रे निया टिचौनकेउ घाइते भएका छन् । कप्तान सुजल श्रेष्ठसमेत लयमा देखिएनन् ।
साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्रको सहिद स्मारक लिगमा ह्याट्रिक गर्ने योजनामा शंका उत्पन्न भएको छ । ०७६ र ०७८ को लिगमा मच्छिन्द्रले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्दै लगातार जित निकाल्न सफल भयो । सर्वाधिक आठपटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्री स्टार र च्यासल युथका खेलाडी अनुबन्ध गर्दै मच्छिन्द्र बलियो बनेको थियो । तर, पहिलो खेलको हारसँगै मच्छिन्द्रले ह्याट्रिक गर्नेमा आमशुभेच्छुकले प्रश्न गरेका छन् । सुनील बल, मनीष डाँगी, रेजिन सुब्बा, विशाल राई, अभिषेक रिजालजस्ता खेलाडी वर्तमान समय मच्छिन्द्रमा छैनन् । सुनील र मनीष संकटा तथा रेजिन खुमलटार पुगेका छन् ।
नयाँ टोलीको प्रभाव
बी डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेड र उपविजेता बनेको खुमलटार युथले पहिलोपटक शीर्ष डिभिजन लिगमा डेब्यु गरेका छन् । लिगको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्सलाई १–० ले हरायो । खेलमा पूर्ण दबदबा बनाएको खुमलटारले अन्तिम मिनेटमा विजयी गोल गरेको थियो ।
तीन क्यामरुनी खेलाडी अनुबन्ध गरेको खुमलटारको अग्रपंक्ति निकै बलियो रहेको छ । यता, चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्यो । च्यासल मैदानमा चर्च ब्वाइजले पुनरागमन जित निकालेको थियो । यसैगरी, अन्य खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २–१, एपिएफले थ्री स्टारलाई २–० तथा मनाङ र हिमालयन शेर्पाले १–१ का साथै त्रिभुवन आर्मी क्लब र संकटाले गोलरहित बराबरी खेलेका छन् ।
चर्च ब्वाइज र खुमलटार भिड्दै
दोस्रो चरणका खेल आजबाट सुरु हुँदै छ । पहिलो खेलमा नवप्रवेशी क्लबद्वय चर्च ब्वाइज क्लब र खुमलटार युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । सोही समय च्यासल मैदानमा फ्रेन्ड्स र थ्री स्टारबीच भिडन्त हुनेछ ।