स्ववियु चुनाव नजिकिँदै गर्दा केही क्याम्पसमा विवाद : त्रिचन्द्रमा एकमुस्ट भर्ना गरेपछि विरोध, चुनावी कार्यतालिका प्रभावित

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिएसँगै कतिपय क्याम्पसमा विवाद देखिएको छ, जसका कारण निर्वाचन कार्यतालिकासमेत प्रभावित भएको छ ।त्रिविको आंगिक त्रिचन्द्र क्याम्पसमा दुई लाख रुपैयाँ एकमुस्ट बैंकमा जम्मा गरेर विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ । विवादकै कारण निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । स्रोतका अनुसार भर्नाको समय सकिनै लाग्दा नेविसंघमा आबद्ध व्यक्तिले क्युआर कोडमार्फत एकमुस्ट रकम जम्मा गरेका थिए । जसबाट ३१ विद्यार्थी भर्ना गर्न पाउनुपर्ने नेविसंघको माग छ भने अन्य संगठनले विरोध जनाएका छन् । 

विवादका कारण त्रिचन्द्रमा मतदाता नामावलीसमेत प्रकाशित हुन सकेको छैन । त्रिवि निर्देशिकामा विद्यार्थीको एकमुस्ट भर्नालाई मान्यता नदिने व्यवस्था छ । तर, त्रिचन्द्रमा एउटै भौचरबाट बैंकमा रकम तिरेर धेरै विद्यार्थीको भर्नाको लिस्ट बनाएका कारण विवाद चर्किएको हो । निर्देशिकाअनुसार एउटा विद्यार्थीले एउटा भौचर प्रयोग गरी भर्ना हुनुपर्दछ ।

त्रिचन्द्रका सहायक क्याम्पसप्रमुख बालकृष्ण पौडेलले भर्नाको विवाद टुंगिन लागेको बताए । ‘एकमुस्ट भर्नाको विषयमा छलफल भएर अन्तिम टुंगो लाग्ने क्रममा छ, टुंगिएपछि नामावली सार्वजनिक हुन्छ,’ उनले भने । निर्वाचनको मितिलाई असर नपर्ने गरी काम हुने पौडेलले बताए । विगतमा स्ववियु चुनावलाई लक्षित गरी ठूलो संख्यामा भर्ना गर्ने विकृति थियो । यसपटक भर्नाको शुल्क धेरै रहेकाले यस्तो समस्या कम हुन सक्ने त्रिविका पदाधिकारीको भनाइ छ । 

लमजुङ कृषि क्याम्पसमा होस्टेल नै खाली गरेर चुनावी प्रक्रिया
त्रिविको अर्को आंगिक लमजुङ कृषि क्याम्पसमा समेत विवादका कारण सुरुमै निर्वाचन प्रक्रियामा समस्या देखियो । संघ–संगठन दर्ता गर्ने समयमा विवाद भएपछि अहिले होस्टेल खाली गरेर चुनावी प्रक्रिया अघि बढेको जानकारी आएको विद्यार्थी कल्याण निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीले बताए । होस्टेलमा बसेर विभिन्न समूह निर्माण गरी चुनावी प्रक्रियामा अवरोध सिर्जना गरेपछि नै होस्टेल खाली गराएको र त्यसपछि शान्त वातावरणमा चुनावी प्रक्रिया अघि बढेको उनको भनाइ छ । 

त्रिविको आयुर्वेद क्याम्पसमा समेत चुनावी प्रक्रियामा समस्या आएको थियो । इन्टर्नसिपका विद्यार्थीले विभिन्न माग राखेर क्याम्पसमा ताला लगाएपछि चुनावी प्रक्रिया अवरुद्ध भएको थियो । सो क्याम्पसमा समेत आइतबारदेखि चुनावी प्रक्रिया अघि बढेको छ ।

१९ फागुनदेखि चुनावी प्रक्रिया, ५ चैतमा मतदान
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले १९ फागुनदेखि स्ववियु निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । १९ फागुनमा संघ, संगठन तथा समूह दर्ता, २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, दाबी–विरोध गर्ने र छानबिन गर्ने, २६ फागुनमा मनोनयनपत्र वितरण र २७ फागुनमा मनोनयनपत्र दाखिला गरी प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । २८ फागुनमा नामावलीमाथि दाबी–विरोध, त्यसको छानबिन र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी ५ चैतमा मतदान गर्ने निर्वाचन तालिका छ । 

उम्मेदवारहरूले २९ फागुनदेखि २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन र त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियुमा भाग लिन पाउनेछन् । विद्यार्थी कल्याण निर्देशनालय प्रमुख अधिकारीले त्रिविले जारी गरेको निर्देशिकाअनुसार काम गरेमा कुनै समस्या नआउने र चुनावी वातावरण बन्ने बताए । उनले अहिलेसम्म कसैले पनि चुनावी कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप नगरेको बताए । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुन्छ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्ने व्यवस्था छ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ ।

सुझावित समाचार