नेपाल आइसिसी पुरुष विश्वकप लिग–२ को पाँचौँ स्थानमा उक्लेको छ । नेपालले सोमबार दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली युएईलाई ४२ रनले हराएको छ । जितसँगै नेपालले महत्वपूर्ण दुई अंक जोड्यो । पपुवा न्युगिनीसमेत सम्मिलित सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्यो । विश्वकप लिग–२ मा नेपालले पछिल्लो आठमध्ये सात खेलमा सानदार जित निकालेको छ ।
नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाबीच खेलिएको सिरिजको चारै खेलमा जित हात पारेको थियो । पाँचौँ स्थानमा उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ । युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ । नेपालले एकदिवसीय मान्यता र शीर्ष तीन स्थानमा रही विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ ।
नेपालमै २५ फागुनदेखि लिग–२ को अन्तिम सिरिज हुँदै छ । अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चारमध्ये दुई खेलमा जित हात पारे पनि एकदिवसीय मान्यता जोगाउनेछ । चारै खेलमा जित निकाले तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुग्नेछ । पुछारका चार राष्ट्रले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । विश्वकप लिग–२ को शीर्ष पाँच स्थानमा रहने राष्ट्रहरूको एकदिवसीय मान्यता जोगिनेछ ।
युएई ४२ रनले पराजित
पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो । प्रत्युत्तरमा युएईले ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रन मात्र बनायो । घरेलु मैदानमा युएईले चारमध्ये तीन खेल गुमायो । युएई लगातार पपुवा न्युगिनीसँग दुई खेलमा पराजित भएको थियो । युएईले नेपाललाई एक खेलमा हराएको थियो । ओपनर कुशल भुर्तेल चोटग्रस्त बनेपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओपनिङ जिम्मेवारी पाए । यद्यपि, नेपालको ओपनिङ त्यति जम्न सकेन ।
इनिङ्सको एक समय नेपाल ६८–५ को कमजोर अवस्थामा थियो । आफ्नो पाँचौँ एकदिवसीय खेल खेलिरहेका भीम सार्कीले सन्दीप लामिछानेसँग छैटौँ विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई ३१.२ ओभरमा १२४–६ को स्थितिमा राखे । सन्दीपले ४० बलमा एक चौकाको सहयोगमा २७ रन बनाए । त्यसपछि भीमले आरिफ शेखसँग सातौँ विकेटका लागि अर्को बलियो साझेदारी गरे । भीम र शेखबीच ५६ रनको साझेदारी हुँदा नेपाल १८०–७ को स्थितिमा पुग्यो ।
इनिङ्सको ४४.३ ओभरमा भीमले आफ्नो विकेट गुमाएका थिए । शेख अन्तिमसम्म नटआउट रही ५६ बलमा दुई चौका र एक छक्का प्रहार गरी ४३ रन बनाए । अन्तिममा करण केसीले ११ बलमा १७ रन तथा प्रतिश जिसीले ६ बलमा ११ रनको योगदान दिए । मध्यम योगफल पछ्याएको युएईका लागि असिफ खान र आर्यन लार्काले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै जितको आशा दिलाएका थिए ।
भीम बने पहिलोपटक प्लेयर अफ दी म्याच
नेपालको जितमा भीम सार्की नायक भए । कठिन अवस्थामा रहेको ब्याटिङलाई सुधार गर्दै भीमले नेपाललाई सम्माजनक योगफलसम्म पुर्याएका थिए । केवल पाँचौँ एकदिवसीय खेल खेलिरहेका भीमले ऐतिहासिक रूपमा युएईविरुद्ध ७० रनको योगदान दिए । उनले ९९ बलमा सात चौका प्रहार गरेका थिए । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक बनाएका भीम खेलकै म्यान अफ दी म्याच भए । म्यान अफ दी म्याच ट्रफी लिँदै भीमले मध्यक्रममा रन बटुल्न गाह्रो भएको बताएका छन् ।
‘इनिङ्स बिल्डअप गर्नुपर्ने थियो, रन राम्रोसँग आइरहेको थिएन,’ उनले भने, ‘प्राप्त मौकामा रन लिँदै गयौँ, योजनाअनुसार खेल्दै जाँदा पछि स्कोर बनिरह्यो ।’ भीमले आफ्नो पहिलो एकदिवसीय म्यान अफ दी म्याच ट्रफी हजुरआमालाई समर्पित गरेका छन् । सन् २०२२ को २२ मार्चमा भीमले एकदिवसीय खेलमा पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका थिए । युएईमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजमा उनले पपुवा न्युगिनीविरुद्ध आठ रन मात्र बनाएका थिए ।
लिग–२ मा करणको ५० विकेट पूरा
विश्वकप लिग–२ मा नेपालका बलर करण केसीले ५० विकेट पूरा गरेका छन् । विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा युएईका अलिसान सरफुको विकेट लिँदै उनले आफ्नो ५० विकेट पूरा गरेका हुन् । ५० विकेट पूरा गर्ने करण दोस्रो नेपाली खेलाडी हुन् । यसअघि पूर्वकप्तान सन्दीपले पनि यो उपलब्धि हात पारेका थिए । सन्दीपले लिग–२ मा ६० विकेट लिएका छन् ।
करणले २८ खेलमा दुई सय आठ ओभर बलिङ गरेका छन् । यसक्रममा उनले १५ पटक मेडन ओभर फ्याँक्दै एक हजार ५२ रन खर्चे । प्रतियोगितामा उनको इकोनोमी ५.०३ रहेको छ । करणले विश्वकप लिग–२ मा तीनपटक चार विकेट तथा पाँच विकेट तीनैपटक लिएका छन् । २०१९ देखि सुरु भएको विश्वकप लिग–२ सिरिजमा ५० विकेट लिने करण समग्रमा छैटौँ बलर बनेका छन् । ओमानका विलाल खानले ३५ खेलबाट सर्वाधिक ७६ विकेट लिएका छन् ।

