युएई र पपुवा न्युगिनी सम्मिलित श्रृंखला जितेसँगै नेपाल आइसिसी पुरुष विश्वकप लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ।
सात राष्ट्र सहभागी लिग – २ मा नेपाल ३२ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा उक्लिएको हो। समान खेल खेलेको युएई ३१ अंकसहित छैटौँ स्थानमा छ।
पपुवा न्युगिनी भने ३२ खेलबाट ९ अंकसहित पुछारमा छ। लिग – २ का सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५० अंकसहित पहिलो, ओमान ४४ अंकसहित दोस्रो, नामिबिया ३९ अंकसहित तेस्रो र अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ।
३६ खेल सम्पन्न हुँदा समूहको अन्तिम पाँचभित्र रहने टिमको एकदिवसीय मान्यता कायमै रहनेछ भने उत्कृष्ट तीनभित्र रहने टिमले आगामी वर्ष भारतमा हुने विश्वकप प्रतियोगितामा सहभागिताको ढोका मानिएको छनोट प्रतियोगिता खेल्न पाउनेछ।
नेपालले चार खेल खेल्न बाँकी छ। बाँकी सबै खेल जिते नेपालको ४० अंक हुनेछ र नेपाल उत्कृष्ट तीनभित्र रही विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ।
बाँकी चारमध्ये दुई खेल जितेको अवस्थामा नेपाल चौथो स्थानमा उक्लिनेछ र एकदिवसीय मान्यता कायम राख्न सफल हुनेछ।
नेपाल, युएई र पपुवा न्युगिनीबीच अन्तिम शृंखला बिहीबारदेखि नेपालमा आयोजना हुँदै छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने शृंखलामा तीनवटै राष्ट्रले चार–चार म्याच खेल्नेछन्।