आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अहिले नेपाल र युएईबीचको खेल सुरु भएको छ । युएईमा चलिरहेको सिरिजअन्तर्गत दुवैले आज अन्तिम खेल खेल्दै छन् । नेपालले टस जितेर आज ब्याटिङ रोजेको छ ।
यसअघिका सात खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । युएईसँगको पछिल्लो खेलमा नेपालले बलिङमा राम्रो गरे पनि दुई सय सात रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा महत्वपूर्ण दुई अंक गुमाएको थियो ।
त्यसैले कप्तान रोहित पौडेलले आजको खेलमा टस जितेर ब्याटिङ रोजेका छन् । आज नेपालको तर्फबाट आसिफ शेख र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन् ।
इन्जुरीका कारण नियमित ओपनर कुशल भुर्तेल आजको खेलमा छैनन् । उनको अनुपस्थितिमा टिममा प्रतिश जिसीले मौका पाएका छन् ।
नेपाल जारी सिरिजको अन्तिम खेल जित्दै शृंखला आफ्नो पक्षमा पर्ने प्रयासमा छ । आजको खेल जिते नेपालले महत्वपूर्ण दुई अंक हासिल गर्नेछ । र, तालिकामा पाँचौँ स्थानमा उक्लिनेछ ।
जारी शृंखलालगत्तै ९ तारिकबाट काठमाडौंमा पुन नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित शृंखला सुरु हुनेछ ।