सेवाभावको मूल्य

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

एक सन्तले एउटा संस्कार सिकाउने उद्देश्यले एउटा विद्यालय सञ्चालन गरेका थिए । उनले एकदिन विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरे । विषय थियो– जीवमाथिको दया तथा प्राणी मात्रको सेवा । निर्धारित मितिमा विद्यालयको सभाकक्षमा प्रतियोगिता आरम्भ भयो ।

प्रतियोगीमध्ये कसैले सेवाका लागि संसाधनको महत्तामाथि जोड दिँदै भने– पर्याप्त संसाधन भएको अवस्थामा मात्र हामीले प्राणी मात्रको सेवा गर्न सक्छौँ । कतिपय प्रतियोगीले चाहिँ सेवाका लागि संसाधनको भन्दा भावनाको आवश्यकतामाथि जोड दिए । यसैगरी, सबै प्रतियोगीले प्राणी सेवाबारे आ–आफ्ना तर्क प्रस्तुत गरे । अन्तिममा नतिजा सुनाएर पुरस्कार दिने समयमा सन्तले यस्तो विद्यार्थीलाई विजयी घोषित गरेर पुरस्कृत गरे, जो प्रतियोगितामा भाग लिएर पनि बोल्नका लागि मञ्चमा आएकै थिएनन् । 

सन्तले गरेको चयन देखेर सबै प्रतियोगी र शिक्षकगण पनि अचम्मित भए । उनीहरूले त्यस निर्णयको विरोध पनि गरे । विरोध सुनिसकेपछि सन्तले सबैलाई शान्त गराउँदै भने– मेरा प्रिय मित्रगण र विद्यार्थी भाइबहिनीहरू, तपाईंहरूले यहाँ बोल्दै नबोलेको विद्यार्थी कसरी प्रथम भए भनेर प्रश्न गर्नुभएको छ । मेरो निर्णयको विरोध पनि गर्नुभएको छ । तपाईंहरूको विरोध जायज पनि छ । मैले किन र केका आधारमा यो निर्णय गरेँ भन्नेबारे जान्न पाउनु तपाईंहरूको अधिकार पनि हो ।

वास्तवमा हाम्रा विद्यार्थीमा सबैभन्दा राम्रोसँग सेवाभावलाई कसले बुझेको छ भन्नेबारे म बुझ्न चाहन्थेँ । त्यसैले, मैले प्रतियोगिताको विषय पनि त्यस्तै चयन गरेको थिएँ । आज प्रतियोगिताको दिन मैले यो सभाकक्षको ढोकाबाहिर एउटा घाइते बिरालोलाई राखिदिएको थिएँ । तपाईंहरू सबै त्यही ढोकाबाट भित्र आउनुभयो । कसैले पनि बिरालोको पीडालाई महसुस गर्न सक्नुभएन । तपाईंहरूमध्ये कसैले त त्यो बिरालोतिर हेर्दा पनि हेर्नुभएन । तर, यी प्रतियोगी, जसलाई मैले यहाँ विजयी घोषित गरेको छु, यिनले बिरालोलाई उठाएर उसको उपचार गराए र उसलाई सुरक्षित स्थानमा राखेर मात्र फर्किए । आजको हाम्रो वादविवादको विषय पनि सेवा या सहायता मात्र होइन, जीवन जिउने कला पनि हो, होइन र ?

सुझावित समाचार