ओलीको अभिव्यक्तिप्रति आफ्नै कार्यकर्ताले उठाए प्रश्न !

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिलाई पार्टीभित्र विवाद सिर्जना भएको छ। 

प्रधानमन्त्री प्रचण्डले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न दिएर चीनविरुद्ध गद्दारी गरेको र देशलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको भनी ओलीले दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेशका एमाले नेताले आपत्ति जनाएका छन्। 

ओलीको सो भनाइलाई लिएर नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्रधारा विष्टले फेसबुकमा लामो स्टाटस लेख्दै ओलीको भनाइप्रति ध्यानाकर्षण भएको जनाएका छन्।  

एमाले गण्डकी प्रदेश सदस्य विष्टले विश्वविद्यालय खोल्ने कुरालाई राजनीतिक नबनाऊ भन्दै ओलीको सो भनाइका कारण मुस्ताङमा एमालेको भविष्यमाथि चुनौती थप्ने र प्रश्न उठ्ने काम भएकोसमेत बताएका छन्। 

स्थानीय तह कर्मचारी संघ नेपालले शनिबार एमाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्री प्रचण्डले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न दिएर चीनविरुद्ध गद्दारी गरेको र देशलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको आरोप लागाएका थिए। 

ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर भारतले विश्वविद्यालय खोल्ने भनेको र त्यो देशका लागि अति खतरनाक रहेको भनाइ व्यक्त गरेका थिए।

यस्तो छ विष्टले फेसबुकमा लेखेको स्टाटस

आदरणीय अध्यक्ष कमरेडका साथै सबैमा अभिवादन!

केही समाचार हजुरले पढ्नुभयो, पत्याउनुभयो र हजुरले व्यक्त पनि गर्नुभयो। तर, अध्यक्ष कमरेड हजुरले पढेको बुझेको सबै यथार्थ हो कसरी भन्न सक्नुहुन्छ। त्यसैले त्यो भ्रमलाई चिर्न र बुझाउन म यो सानो मैले बुझेको र केही सहकार्य गरेको कुरालाई राख्दै छु।

‘सन्दर्भ मुस्ताङमा विश्वविद्यालय’

यो हाम्रो मुस्ताङमा कुनै विश्वविद्यालय बन्न लागेको हैन, यहाँ हाम्रो गाउँहरूमा झन्डै दुईदर्जन गुम्बाहरू छन्। धेरै गुम्बाहरूमा गुम्बा विद्यालय छ, तर दुःखका साथ भन्नुपर्छ हामीसँग बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ एउटा पनि छैन । तसर्थ उच्च शिक्षाको लागि विगतमा टिबेट र अहिले इन्डिया जाने गर्छन् । हामी सबैको प्रयास हो यो उच्च अध्ययनको लागि एउटा बुद्धिस्ट उच्च विद्यालयका आवश्यकता । त्यसलाई मध्यनजर गरी हाम्रै संस्था सबैको संस्था ‘शाक्य बौद्ध संघ’ मुस्ताङको प्रयासमा इन्डिया एम्बेसीले चासोका साथ सहयोगको अश्वासन पाइएको हो । त्यो प्रक्रिया पूरा गर्न अझै हाम्रो सरकारको धेरै कागजी कामहरू छ । सवैमा सहयोगको अपेक्षा गर्छु।

यो आवश्यकता पूरा गर्नका लागि हामी सुरुबाटै सल्लाह र सहयोग गर्दै आइरहेको मात्रै हैन मुस्ताङमा विश्वकै सहज बौद्ध दर्शनको उच्च अध्ययन र अध्यापनको लागि हामी मुस्ताङवासी एक भएर लाग्नेमा दुई मत छैन। 

यो धार्मिक लफडा केन्द्र, कुनै व्यक्तिको स्वार्थ बोकेको र राष्ट्रियता माथि आँच आउने कुनै परियोजना हैन । हिजो हाम्रो यस क्षेत्रमा लो खेल्छेन सोनम ल्येन्डुप र ज्येचुन कुङ्गा डोछ्योकको समय करीब चार पाँच सय वर्ष अगाडि उच्च शिक्षा लिने ठाउँ भिक्षुहरुको लागि लोमन्थाङ्ग गाउँपालिकाको वडा नं.–३ फुवा गाउँ र भिक्षुनीहरुको लागि ल्होघेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नं.–१, मराङ गाउँमा थियो ।

अहिले हामी त्यहि इतिहासलाई दोहोर्याउन र हाम्रो आफनो समस्यालाई हल गर्न यो परियोजना अगाडि बढाउन लागेको हो। साथै, सबैलाई सहजताको लागि फुवा र मराङ निषेधित क्षेत्रमा पर्ने भएको हुँदा निषेधित क्षेत्रभन्दा बाहिर निर्माण गर्न लागेको जग्गासमेत व्यक्तिहरुबाट प्राप्त गरिसकेको छ।

मेरो अनुरोध अध्यक्ष कमरेडलगायत सबैमा यो हाम्रो मुस्ताङको आवश्यकता, इतिहासले सुजाएको, हामी सबैलाई चाहिएको र अहिलेको यो समय हामीले यो परियोजना सफल बनाउन सके त्यो अनुसारको विद्धान व्यक्तित्वहरूसमेत हाम्रै क्षेत्रका व्यक्तिहरु तयार रहेको हुँदा सके सहयोग नसके आँच नपु¥याउन र यो विषयलाई राजनीतिक नबानाउन सबैमा अनुरोध गर्दछु। 

साथै, अध्यक्ष कमरेड तपाईंको राष्ट्रियता भावनालाई सलाम गदै अस्ति तपाईको अभिव्यक्तिले हामीलाई असहज महसुस भएको हुँदा विशेष गरी विशेष गरी हाम्रो गौरवशाली पार्टी नेकपा एमाले मुस्ताङको भविष्यमाथिसमेत चुनौती थप्ने र प्रश्न उठ्ने भएको हुँदा यसबारे तपाईंको ध्यानाकर्षण गर्न बाध्य भएको छु।

ईन्द्रधारा विष्ट

सदस्य  

प्रदेश कमिटी गण्डकी
 

सुझावित समाचार