आइसिसी विश्वकप लिग – २
पिएसजीविरुद्ध नेपालको संघर्षपूर्ण जित, आसिफ र सन्दीपले खेले ‘स्पेशल इनिङ’
काठमाडौं
नेपालले पपुवा न्युगिनीविरुद्ध तीन विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ । निश्चितजस्तै देखिएको पराजयलाई टार्दै आसिफ सेख र सन्दीप लामिछानेले ‘स्पेशल इनिङ’ खेलेका छन् ।
पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको लो स्कोरिङ लक्ष्ये नेपालले सात विकेटको क्षतिमा ४८औँ ओभरमा पूरा गर्यो ।
ओपनिङ ब्याटर आसिफ अन्तिमसम्म अविजित रहे । उनले ८६ रन बनाए भने सात विकेट गुमिसकेपछि क्रिजमा आएका सन्दीप ३५ रनमा नटआउट रहँदै विजयी चौका प्रहार गरे ।
अर्को इन्डबाट ब्याटिङ कोल्याप्स भइरहेका वेला आसिफ एक इन्डमा डटिरहेपछि नेपालको जित सम्भव भएको हो । एक सय ३० बल सामना गरेका उनले एक छक्का र दुई चौका प्रहार गरे ।
उनले करिअरको सातौँ अर्धशतक पनि बनाए । उनी म्यान अफ द म्याचसमेत भए ।
५० बलको सामना गरेका सन्दीपले तीन चौका हाने । सन्दीपले युएईसँगको खेलमा पनि आकर्षक सट प्रहार गर्दै २५ रन बनाएका थिए ।
त्यसअघि नेपाली ब्याटिङ अर्डर तासको घरजस्तै लगातार ढलेको थियो । मुख्य ब्याटरहरू सस्तैमा आउट भएपछि धर्मराएको टिमलाई एक इन्डबाट आसिफले सम्हाले । अर्कोतर्फ सात विकेट गुमिसकेपछि नेपाल अलआउट हुने औपचारिकताजस्तो मात्र देखिएको थियो ।
आठौँ नम्बरमा ब्याटिङमा आउने गरेका सोमपालको सट्टा सन्दीपलाई प्रशिक्षक मोन्टी देसाइले सन्दीपलाई क्रिजमा पठाए ।
अरु समयमा सन्दीप अन्तिम विकेटका रूपमा ब्याटिङमा आउने गरेका थिए । तर, उनको अन्तर्राष्ट्रिय अनुभवलाई समेत हेर्दै प्रशिक्षक देसाइले सात विकेट गुमेपछि ब्याटिङ अर्डर प्रमोशन गर्दै क्रिजमा पठाएका थिए ।
प्रशिक्षकको विश्वासलाई साकार पार्दै सन्दीपले आसिफलाई अन्तिमसम्म साथ दिए र विजयी चौकासमेत प्रहार गरे ।
त्यसअघि ३१ ओभरभित्र एक सय पाँच रन बनाउँदा नेपालले साता विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेललाई पहिलो बलमै गुमाएको नेपालले त्यसपछि लगातार अन्तरालमा ज्ञानेन्द्र मल्ल, कप्तान रोहितकुमार पौडेल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख र कुशल मल्ललाई गुमाएको थियो ।
युएईविरुद्धको अघिल्लो खेलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका कुशल पनि आज चल्न सकेनन् । उनी २६ बलमा २३ रन बनाएर सेसे बाओको बलमा कट एन्ड बोल्ड भए ।
२२औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरी आउट भए । १६ बलमा आठ रन बनाएका दीपेन्द्र पनि सेसे बाओकै शिकार बनेका थिए ।
नेपालले १८औँ ओभरको पहिलो र पाँचौँ बलमा दुई महत्वपूर्ण विकेट गुमाएको थियो । पाँचौँ विकेटका रूपमा आरिस सेख डक आउट भएका छन् । तीन बल सामना गरेका सेखलाई असाद भालाले बोल्ड गरे ।
त्यसअघि कप्तान रोहितकुमार पौडेललाई पनि उनले नै पेभेलियन पठाएका थिए । कप्तानी पारीको आशा गरेका नेपाली समर्थक आज पनि निराश बन्न बाध्य भए । ८ बल सामना गरेका उनले एक रन बनाए । युएईसँगको खेलमा पनि रोहित चल्न सकेका थिएनन् ।
त्यसअघि १६औँ ओभरको खेल चलिरहँदा ४६ रनको अवस्थामा नेपालले तेस्रो विकेट पनि गुमाएको थियो । जारी शृंखलामा पहिलोपटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाएर आउट भए ।
ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए । उनलाई सेमो एलगोले एलबिडब्लु धरापमा पारेका थिए । त्यसपछि सम्हालिएर खेल्नुपर्ने आवश्यकता रहेकोमा पाँचौँ ओभरको पाँचौँ बलमा नेपालले सबैभन्दा अनुभवी खेलाडी टपअर्डर ब्याटर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
२० बलको सामना गरेका ज्ञानेन्द्रले ६ रन बनाए । उनी पनि सेमो एलगोको बलमा क्याटआउट भए । उनको ब्याटबाट लगातार सात म्याचमा रन बन्न सकेको छैन ।
आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पिएनजीले पहिले ब्याटिङ रोजेको थियो ।
नेपाली बलरहरूले कसिलो बलिङ गरेपछि पिएनजी एक सय ७९ रनमा अलआउट गरेको थियो । ४९.२ ओभरमा अलआउट भएको पिएनजीका तीन ब्याटर रनआउट भएका थिए । पिएनजीका लागि टोनी उराले ३९ र हिरी हिरीले ३१ रनको इनिङ खेले ।
नेपालको तर्फबाट सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।
नेपालले जारी शृंखलाको पहिलो म्याचमा पनि पिएनजीलाई हराएको थियो । अहिलेसम्म तीन म्याच खेल्दा नेपालले दुई जितेको छ ।
यो जितसँगै आइसिसी विश्वकप लिग– २ को तालिकामा नेपालको ३० अंक भएको छ । ३१ खेलमा नेपालले ३० अंक जोडेको हो । सात राष्ट्र सम्मिलित लिग २ मा नेपाल छैटौँ स्थानमा छ ।
एकदिवसीय मान्यता कायम रहन नेपाल कम्तिमा तालिकाको पाँचौँ स्थानसम्मा रहनुपर्छ । नेपालसँग एकदिवसीय मान्यता कायमै राख्ने मात्र नभई बाँकी सबै खेल जितेर तालिकाको तेस्रो स्थानमा उक्लँदै आगामी वर्ष भारतमा हुने विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा छानिने अवसर कायमै छ ।