सम्भावित ‘क्रस भोटिङ’लाई मध्यनजर गर्दै राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनले प्रदेशदेखि संघीय सांसदसम्म निगरानी बढाएको छ । आर्थिक वा अन्य प्रलोभनमा एमालेले ‘क्रस भोटिङ’ गराउन सक्ने जोखिम देखिएको भन्दै आठ दलका शीर्ष नेताले राष्ट्रपति निर्वाचनमा मतदाता रहेका दुवै तहका सांसदमाथि पार्टी संयन्त्रबाटै निगरानी थालेका हुन् ।
गठबन्धनले एमाले उम्मेदवारका पक्षमा मत जान नदिन प्रदेशदेखि केन्द्रसम्मका सांसदलाई अभिमुखीकरण कार्यक्रमसँगै निगरानी बढाएको हो । गठबन्धनले संघीय सांसदलाई राजधानीमा केन्द्रित गराएको छ । त्यस्तै, प्रदेश सांसदहरूलाई प्रदेश मुकाममा केन्द्रित गरेको छ ।
बिहीबार गठबन्धनका शीर्ष नेताले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदलाई तीन घन्टा प्रशिक्षण दिएका छन् । शुक्रबार सातै प्रदेश मुकाममा सांसदलाई अभिमुखीकरण गरिँदै छ । २४ फागुनमा संयुक्त रूपमा केन्द्रमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
बिहीबारको अभिमुखीकरणमा सम्बोधन गरेका शीर्ष नेताले गठबन्धनका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आवश्यक रहेको बताए । राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले आफ्नो भोट एमालेले प्रभावित बनाउन सक्ने गठबन्धनलाई डर छ ।
‘एक भोट पनि तलमाथि नहोस् भन्नेमा हामी सचेत छौँ । यसका लागि आ–आफ्नो पार्टी संयन्त्रले संघीय र प्रदेश सांंसदका गतिविधिमाथि नजर राखेका छौँ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘हामी भोट बढाउन खोजेका छौँ । त्यहीअनुसार निर्णय नलिएका पार्टीसँग पनि संवाद बढाएका छौँ ।’
अभिमुखीकरणमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन ब्युँताएसँगै मुलुक ‘सही ट्र्याक’मा आएको दाबी गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन ब्युँताइएकाले यसलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए । प्रचण्डले विश्वासको मत लिने दिन एमाले अध्यक्ष ओलीले संसद् विघटन सही भएको बताएकाले नयाँ गठबन्धनबारे सोच्न बाध्य भएको बताए ।
‘संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुनस्र्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रचण्डले भने, ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन छ । उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान राष्ट्रपतिबाट कानुनको पालना नहुँदा वितृष्णाको अवस्था रहेको बताए । संविधान रक्षा गर्न र प्रजातन्त्रको सवालमा पौडेल राष्ट्रपतिको उपयुक्त उम्मेदवार रहेको जिकिर गरेका थिए । ‘रामचन्द्रजीको प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान छ, यसका लागि धेरै दुःख गर्नुभएको छ । अहिलेको राष्ट्रपतिबाट कानुनको पालना नहुँदा वितृष्णाको अवस्था छ । रामचन्द्रजीले संविधान रक्षा गर्न र प्रजातन्त्रको सवालमा राष्ट्रपतिको पदको गरिमा कायम हुने गरी काम गर्नुहुनेछ भन्ने विश्वास छ,’ देउवाले भने, ‘निर्वाचनका क्रममा प्रचण्डजीले उहाँलाई प्रधानमन्त्री बनाउँछु भन्नुभएको थियो । त्योभन्दा माथिल्लो पदमा नै उहाँले ल्याउनुभएको छ । माधवजी पनि यसमा सहमत हुनुभयो, अरू दल पनि जोडिनुभएको छ ।’
एकीकृत समावादीका अध्यक्ष माधव नेपालले राष्ट्रका सामु अनेकन चुनौती रहेकाले संविधानको रक्षालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीबारे प्रस्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धनलाई केन्द्रबिन्दुमा राख्नुपर्छ,’ उनले भने, ‘म आफैँ उहाँको प्रस्तावक भएकाले उहाँको विजयको शुभकामना दिन चाहन्छु । अहिलेसम्म प्राप्त अनुभवलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्नेमा विश्वास छ ।’
शीर्ष नेताको भनाइमा सहमति जनाउँदै अन्य पाँच दलका नेताले सम्बोधन गरेका थिए । कार्यक्रममा महन्थ ठाकुर, अशोककुमार राई र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका नेता बेदुराम भुसाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जनमत पार्टीका नेता अब्दुल खानलगायत सहभागी थिए ।
प्रतिस्पर्धी नेम्वाङसहित सबै मतदातालाई पौडेलको पत्र

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले प्रतिस्पर्धी सुवास नेम्वाङसहित मतदान गर्ने सबै सांसदलाई मत मागेका छन् । सचिवालयका अनुसार पौडेलले संघ र प्रदेशका सबै सांसदलाई पत्र पठाएर मतदानका लागि आग्रह गरेका हुन् । पत्रमा पौडेलले आफूले मुलुकको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेको तथा लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने लक्ष्यमा सदैव अडिग रहेको उल्लेख गरेका छन् ।
उनले सबैलाई समेटेर अघि बढ्ने र स्थायित्व र सुशासनका लागि भूमिका खेल्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । ‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदका लागि उम्मेदवारका रूपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु,’ पत्रमा भनिएको छ ।
नेम्वाङको घरदैलो
आसन्न राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुवास नेम्वाङले विभिन्न दलको कार्यालयमै पुगेर मत मागेका छन् । एमाले अध्यक्ष केपी ओलीले संस्थागत रूपमै पत्राचार गरेका दलका नेतालाई भेटेर नेम्वाङले मत मागेका छन् । २५ फागुनमा हुने निर्वाचनमा आठदलीय गठबन्धनबाट ‘क्रस भोटिङ’ गराउने एमालेको रणनीति छ ।
नेम्वाङले बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाको कार्यालयमा पुगेर भोट मागेका हुन् । राजनीतिक दलका नेताहरूसँगको छलफल सकारात्मक रहेको उनले बताए । ‘दलका नेता र माननीय सांसदहरूलाई भेटेरै सहयोग मागेको छु । उहाँहरूले सकारात्मक जवाफ दिनुभएको छ । मैले संविधान निर्माणमा खेलेको भूमिका र अनुभवले पनि मेरो उम्मेदवारीलाई पुष्टि गर्छ भन्ने उहाँहरूको तर्क छ । छलफलबाट उत्साहित छु,’ नेम्वाङले भने ।
एकीकृत समाजवादीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष माधव नेपालसहितका नेतासँग सहयोग गर्न आग्रह गरेका थिए । नेम्वाङले नेपालकै कारण पुनस्र्थापित संसद्को सभामुख र संविधानसभाको अध्यक्ष भएको स्मरण गर्दै राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको एकीकृत समाजवादीका एक नेताले बताए ।
नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल एकीकृत समाजवादीको कार्यालय मीनभवन पुगेका थिए । अध्यक्ष ओली भने गएनन् ।
पौडेलले विगतमा नेपालकै नेतृत्वमा आफूहरूको राजनीति अगाडि बढेको र भविष्यमा एउटै पार्टी बन्नेतर्फ समेत सोच्न ढिला गर्न नहुने बताएका थिए । एमाले उपमहासचिव गुरुङले आफूहरूले नेम्वाङलाई मतदान गर्न आग्रह गरेको र छलफल सकारात्मक भएको बताए । ‘हामीले हाम्रो उम्मेदवारलाई मतदान गर्न आग्रह गर्यौँ, कुराकानी सकारात्मक भयो,’ उनले भने, ‘यसलाई एकता अभियान शुभारम्भका रूपमा पनि बुझ्न सक्नुहुन्छ ।
भेटमा एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, जगन्नाथ खतिवडा र सचिवालय सदस्य रामचन्द्र झा सहभागी थिए । खतिवडाले मत माग्न आएकोमा धन्यवाद दिएर बिदा गरेको बताए । छलफलमा नेपालले छलफलको वातावरण बनेको र फेरि पनि छलफल हुन सक्ने बताएका थिए । नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरि पनि छलफल हुन सक्छ ।’ नेपालले आफू आठदलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक रहेको र पार्टीले पौडेलको पक्षमा निर्णय गरेको भन्दै सहयोग गर्ने परिस्थिति नरहेको बताएका थिए ।
रास्वपा सकारात्मक, राप्रपाले सघाउने विश्वास
नेम्वाङले रास्वपासँग पनि मत मागेका छन् । रास्वपाले आन्तरिक छलफलपछि निर्णय लिने जवाफ दिएको छ । भेटमा सहभागी एमाले सचिव योगेश भट्टराईले रास्वपा नेम्वाङप्रति सकारात्मक रहेको बताए । ‘रास्वपाको भनाइबाट हामीलाई समर्थन गर्ने बुझ्न सकिन्छ । मुलुकले खोजिरहेको पात्र नेम्वाङ नै हुनुहुन्छ । उहाँले राष्ट्रिय सहमति कायम गर्न सक्नुहुन्छ । सबैलाई मिलाएर लान सक्ने क्षमता उहाँसँग छ । हामी आन्तरिक छलफलबाट निर्णय लिन्छौँ भन्नुभएको छ,’ भट्टराईले भने ।
नेम्वाङले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टी कार्यालय धुम्बाराही पुगेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका छन् । भेटमा सहभागी एमाले नेतृ विद्या भट्टराईले नेम्वाङप्रति राप्रपा सकारात्मक रहेको बताइन् । एमालेसँग राप्रपाले विगतदेखि नै सहकार्य गर्दै आएको र राष्ट्रपति निर्वाचनमा पनि सहकार्य हुने उनको विश्वास छ । ‘हाम्रो उम्मेदवारप्रति उहाँहरू सकारात्मक हुनुहुन्छ । हिजोदेखि हामीले सहकार्य गरेका हौँ । हामी सहकार्यको पक्षमा छौँ । सहकार्यलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभएको छ,’ भट्टराईले भनिन् ।