वेश्यावृत्तिमा लगाउन युगान्डादेखि काठमाडौं ल्याइन्छन् युवती

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण
वेश्यावृत्तिमा लगाउन युगान्डादेखि काठमाडौं ल्याइन्छन् युवती

इम्माकुलेट नाम्बसेम्बा

प्रतिमहिना पाँच सय डलर कमाइ हुने प्रलोभनमा युवती ल्याउने इम्माकुलेट नाम्बसेम्बा पक्राउ 

काठमाडौंका होटेलमा वेश्यावृत्तिमा संलग्न युगान्डाका ६ युवती फेला परेका छन् । अफ्रिकी मुलुक युगान्डादेखि युवती ल्याउने २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाम्बसेम्बा पक्राउ परेपछि उनले युगान्डाका युवती काठमाडौंसम्म ल्याएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंका होटेलमा वेश्यावृत्तिमा युगान्डाका ६ जना युवती संलग्न भएको भेटिएको जनाएको छ । जबर्जस्ती वेश्यावृत्तिमा लगाइएकी युगान्डाकै एक युवतीले जाहेरी दिएपछि प्रहरीले नतासालाई पक्राउ गरेको हो । अन्यले भने प्रहरीमा जाहेरी दिएका छैनन् । ब्युरो प्रमुख एसएसपी जीवन श्रेष्ठले काठमाडौंमा वेश्यावृत्तिमा लगाउन युगान्डादेखि युवती ल्याउने गरिएको भेटिएको बताए । ‘काठमाडौंका होटेलमा युगान्डादेखि युवती ल्याउने गरिएको भेटिएको छ । सो कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । उनीविरुद्ध एक पीडितले जाहेरी दिएकी छिन् । सम्पर्कमा रहेका अन्यले भने जाहेरी दिएका छैनन् । अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रहरीका अनुसार पक्राउ परेकी नतासाले प्रतिमहिना पाँच सय अमेरिकी डलर कमाइ हुने प्रलोभनमा युगान्डाबाट युवतीलाई नेपाल ल्याउँदै आएकी थिइन् । उनीहरूलाई काठमाडौंका होटेलमा वेट्रेस र क्लिनरको काम लगाउने भनिएको थियो । तर, काठमाडौं आएपछि वेश्यावृत्तिमा लगाइएको थियो । सोहीमध्येकी एक युवतीले प्रहरीमा जाहेरी दिएपछि तथ्य बाहिरिएको थियो । 

नतासाले वेट्रेस र क्लिनरमा प्रतिमहिना पाँच सय अमेरिकी डलर कमाइ हुने प्रलोभनमा युगान्डादेखि काठमाडौंसम्म युवती ल्याएको ब्युरोका प्रवक्ता एसपी कृष्ण पंगेनीले बताए । ‘वेश्यावृत्तिमा युगान्डाकी युवती संलग्न भएको भेटिएको छ । उनीहरूलाई युगान्डाकै युवतीले प्रतिमहिना पाँच सय डलर कमाइ हुने प्रलोभनमा काठमाडौं ल्याएको खुलेको छ । वेट्रेस र क्लिनरको काममा प्रयोग गर्न ल्याइए पनि उनीहरूलाई वेश्यावृत्तिमा लगाइएको देखिन्छ । जसमध्ये एकजनाको जाहेरी परेको छ । सम्पर्कमा आएका अन्यसँग बयान जारी छ,’ उनले भने ।

प्रहरीका अनुसार नतासा पछिल्लोपटक गत २२ मंसिरमा नेपाल आएकी थिइन् । पर्यटन भिसामा नेपाली आएकी उनी ठमेलस्थित होटेल जर्नी होममा बस्दै आएकी थिइन् । युगान्डादेखि ल्याएकी युवतीलाई पनि उनले सोही होटेलमा राखेकी थिइन् । सम्पर्कमा आएका ग्राहकसँग उनले प्रतिरात चार हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । धन्दामा लगाउन उनले अन्य युवतीलाई पनि पर्यटन भिसामै नेपाल ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार नतासा यसअघि पनि नेपाल आएकी थिइन् । नेपालमा रहँदा उनी आफैँ यौनधन्दामा संलग्न भएको प्रहरीको भनाइ छ । धन्दाबाट कमाइ राम्रो हुने देखेपछि उनले अन्य युवतीलाई युगान्डादेखि ल्याएको ब्युरोका प्रवक्ता एसपी पंगेनीले बताए । ‘नतासा पहिले पनि नेपाल आउने–जाने गरेको देखिन्छ । पर्यटन भिसामा आएकी उनी यसअघि उनी आफैँ पनि यौनधन्दामै संलग्न थिइन् । काम सजिलो र कमाइ पनि राम्रै हुने देखेपछि उसले अन्य युवतीलाई नेपाल ल्याएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

यसरी बाहिरियो यौनधन्दाको रहस्य 
नतासाले गत १४ माघमा युगान्डाकी एक युवतीलाई दिदीमार्फत फकाएर काठमाडौं ल्याइन् । होटेल र हवाई खर्च आफैँले व्यहोरिन् । त्यसवेला उनलाई होटेलमा वेट्रेसको काम भनिएको थियो । प्रतिमहिना पाँच सय अमेरिकी डलर कमाइ हुने प्रलोभन दिइएको थियो । पर्यटन भिसामा युवती नेपाल आइन् । नतासाले उनलाई ठमेलस्थित होटेल जर्नी होममा लगेर राखिन् । केही दिन काम दिइनन् । युवतीले कामबारे सोध्न थालिन् । त्यसपछि नतासाले उनलाई यौनधन्दाबारे बताइन् । युवतीले धन्दा गर्न अस्वीकार गरिन् । स्वदेश फर्कन जहाजको टिकट पनि काटिन् । तर, नतासाले उनलाई विभिन्न प्रलोभन देखाइन् । युवती धन्दा गर्न राजी भइन् । उनले दैनिक सातजनासम्म ग्राहकलाई सेवा दिनुपर्थ्यो । यही क्रममा युवती बिरामी परिन् । धन्दा गर्न नसक्ने जानकारी नतासालाई दिइन् । तर, नतासाले उनलाई जबर्जस्ती धन्दामा लगाइरहिन् । 

पीडा बढ्दै गएपछि युवतीले स्वदेश फर्कन पुनः जहाजको टिकट काटिन् । गत १४ फागुनमा स्वदेश फर्कन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । टिकट लिन काउन्टर गइन् । तर, टिकट यसअघि नै नतासाले रद्द गराएको जानकारी पाइन् । उनी रन्थनिइन् । सहयोग माग्न हारगुहार गर्न थालिन् । यही क्रममा उनी विमानस्थलस्थित प्रहरीको सम्पर्कमा पुगिन् । सोधपुछका क्रममा उनले घटनाको बेलीविस्तार लगाइन् । विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठायो । उनले ब्युरोमा जाहेरी दिइन् । प्रहरीले अनुसन्धान सुुरु गर्यो । लगत्तै प्रहरीले नतासालाई पक्राउ गरेको थियो । 

सुझावित समाचार