सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९÷८० मुख्य प्रायोजनविना आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई मुख्य अतिथि बनाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रायोजकविहीन लिग शुक्रबारबाट सुरु गर्दै छ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिग सुरु हुन २४ घन्टाअघिसम्म पनि एन्फाले मुख्य प्रायोजकको टुंगो लगाएको छैन । ‘हामीले भर्खर मात्रै बैठक बस्यौँ । मुख्य प्रायोजक टुंगो लागेन,’ एन्फाका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने ।
लिगको पूर्वसन्ध्यामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित लिग सञ्चालन समितिको दशरथ रंगशालामा बैठक बसेको थियो । खेलको अघिल्लो रातसम्म मैदानमा मुख्य प्रायोजकको प्रचार गरिएको छैन । रंगशालाको मुख्य द्वारमा १४ सहभागी क्लबका लोगो सम्मिलित पोस्टरबाहेक कहीँ कतै कुनै प्रचार छैन । प्रचारका लागि मैदानमा राखिने रनिङ बोर्ड अझै तयार छैन, प्यारापिटमा कुनै विज्ञापन छैन । फुटबलकै मेरुदण्ड मानिने ए डिभिजन लिगको उद्घाटन हुने दशरथ रंगशाला २४ घन्टाअघिसम्म सुनसान छ ।
एन्फाले मुख्य प्रायोजकका लागि २ करोडको टेन्डर आह्वान गरेको थियो । भारतीय कम्पनी हन्डे«ट स्पोर्टस्ले एक करोड ५० लाखमा प्रस्ताव राख्दा एन्फाले रद्द ग¥यो । यसपछि कुनै पनि संघ संस्थाले मुख्य प्रायोजक बन्ने मनसाय राखेका छैनन् ।
यसअघि कर्माछिरिङ शेर्पाले आफ्नो चारवर्षे कार्यकालमा तीनपटक ए डिभिजन लिग आयोजना गरेका थिए । ०७५ सालको विनारेलिगेसन लिगमा मुख्य प्रायोजक पल्सर बनेको थियो । ०७७ र ०७८ मा कतार एयरवेजसँग सम्झौता भएको थियो । एक वर्ष कोरोनाका कारण लिग हुन सकेन । कतारले मंसिरमा आयोजना गरेको विश्वकप फुटबल प्रतियोगितापछि अन्य कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रायोजनको त्यति चासो राखेको छैन ।
गत असारको चुनावमा अध्यक्ष नेम्वाङ र उनका सल्लाहकार नवीन पाँडेले कतारले अनुदानमा पठाएको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको चर्काे आलोचना गरेपछि कतार मुख्य प्रायोजक दिने मनसायमा छैन । ‘तत्काललाई कतार इच्छुक छैन, बाँकी पछि के हुन्छ, हेर्दै जाऊँ,’ एन्फाका ती सदस्यले भने । नेम्वाङ अध्यक्ष भएयता एन्फाले पहिलोपटक लिग आयोजना गर्दै छ । पाँच महिना चल्ने भनिएको डबल राउन्ड रोबिनको लिग सम्पन्न गर्न १२ करोड खर्च हुने एन्फाको अनुमान छ ।
पाँच विदेशी खेलाडी हुने
नेपालका भरपर्दा सिनियर तथा युवा खेलाडीको विदेश पलायनपछि एन्फाले लिगमा पाँच विदेशी खेलाडी अनुबन्ध गर्ने निर्णय गरेको छ । सोहीअनुसार सहभागी १४ क्लब (विभागीय आर्मी, पुलिसबाहेक)ले पाँच खेलाडी अनुबन्ध गर्ने अन्तिम चरणमा छन् । एनआरटी, खुमलटार, मच्छिन्द्रले पाँच–पाँच खेलाडी अनुबन्ध गरिसकेका छन् । यसअघि एन्फाले चार विदेशी खेलाडीमा एक दक्षिण एसियाली खेलाडी अनिवार्य गरेको थियो ।
यसपटक एक एसियन कोटा थप गरिएको छ । तर, खेलअवधिभर मैदानमा चार विदेशी खेलाडी मात्रै खेल्न पाउनेछन् । यसपटक पनि विभागीय टोली आर्मीले विदेशी खेलाडी राख्नेछैन । एपिएफले अघिल्लो सिजन नै विदेशी खेलाडी खेलाएको र सोही खेलाडीलाई यसपटक मैदान उतार्ने तयारी गरेको छ । पुलिससमेत यसपटक विदेशी खेलाडी भिœयाउन अन्तिम तयारीमा लागेको छ ।
खुमलटार र फ्रेन्ड्स भिड्दै
उद्घाटन खेलमा मैदान उत्रनुअघि खुमलटार र फ्रेन्ड्सले जित निकाल्ने दाबी गरेका छन् । पहिलोपटक ए डिभिजन लिग खेल्दै गरेको खुमलटारले डेब्यु च्याम्पियन बन्ने दाबी गरेको छ । खुमलटारका सिइओ विदुर श्रेष्ठले राम्रो तयारी भएको र उपाधि जित्ने लक्ष्य रहेको दाबी गरे । ‘हामीले राम्रो तयारी गरेका छौँ । युवा खेलाडी र विदेशी खेलाडीको राम्रो तालमेल छ । लिग जित्ने लक्ष्य छ,’ उनले भने । क्लब कप्तान रेजिन सुब्बाले राम्रो तयारी भएको बताए ।
फ्रेन्ड्सका कप्तान उर्जन श्रेष्ठ र कप्तान प्रकाश बुढाथोकीले राम्रो तयारी भएको जनाए । ‘हामीले राम्रो तयारी गरेका छौँ । केही मैत्रीपूर्ण खेलसमेत भएको छ । अभ्यासमा भएको गल्ती सुधार गर्दै पहिलो खेलमा राम्रो खेल्नेछौँ,’ प्रशिक्षक श्रेष्ठले भने । कप्तान प्रकाशले अनुभवी खेलाडीबाट राम्रो नतिजा आउने बताए । ०७८ सालमा १२औँ स्थानमा रहँदै फ्रेन्ड्स रेलिगेसनबाट जोगिएको थियो । दुई टोलीबीचको उद्घाटन खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
क्लबको खर्च करोडमाथि
साबिक विजेता मच्छिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा, एपिएफ फुटबल, जावलाखेल युथ, हिमालयन शेर्पा, नेपाल पुलिस, फ्रेन्ड्स र नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड तथा खुमलटारबीच लिगमा प्रतिस्पर्धा हुनेछ । यसपटक हरेक क्लबले एक करोडमाथि लगानी रहेको बताएका छन् । लिग जित्ने दाबी गरेका मच्छिन्द्र, खुमलटार, चर्च, संकटा, मनाङले दुई करोडमाथि खर्च हुने अनुमान गरेका छन् । रेलिगेसन टार्न मात्रै पनि एक करोड खर्च हुने क्लबले जनाएका छन् । ‘यसपटक ठूला खेलाडी अनुबन्ध नगर्दा पनि दुई करोडमाथि खर्च जाने देखिएको छ,’ मनाङका अध्यक्ष विजय घलेले भने ।