दीपेश कँडेलको ह्याट्रिकमा रचियो इतिहास, नेपाल विश्वकपमा छनोट

यू–१९ विश्वकप छनोट

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण
दीपेश कँडेलको ह्याट्रिकमा रचियो इतिहास, नेपाल विश्वकपमा छनोट

विश्वकपमा छनाेट भएपछि खुसी मनाउँदै नेपाली युवा टिम ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाली युवा टोली यू–१९ क्रिकेट विश्वकपका लागि छनोट भएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईलाई एक सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको युएई ४८ ओभरमा एक सय ८४ रनमा अलआउट भयो । 

युएई जितनजिक पुगिसकेकाले लगातारका तीन बलमा तीन ब्याटरलाई आउट गर्दै दीपेश कँडेलले युएईबाट विश्वकपको यात्रा खोसेका थिए । नेपाल पराजित भएको भए युएई विश्वकपमा सीधै छनोट हुने थियो ।  

नेपालको जितमा दीपेशसँगै कप्तान देव खनालको महत्वपूर्ण योगदान रह्यो । पहिले ब्याटिङ गरेको नेपालले सुरुवातबाटै विकेट गुमाएको थियो । यस्तोमा देवले ५१ रनको महत्वपूर्ण इनिङ खेलेपछि नेपाल ‘फाइटिङ टोटल’सम्म पुगेको हो । नेपाल ४८.५ ओभरमा अलआउट भएको थियो ।

आजको जितसँगै नेपालले दुई वर्षअघिको हारको बदला पनि लिएको छ । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपाल युएईसँगै एक रनले पराजित भएको थियो । त्यसवेला डकवर्थ लेबिस नियमका आधारमा नेपालले पराजय व्यहोरेको थियो । 

त्यसअघि पनि सन् २०१६ मा नेपाल निर्णायक खेलमा अफगानिस्तानसँग पराजित भएपछि छनोट हुन असफल भएको थियो । 

१९ वर्षमुनिका खेलाडीहरूको विश्वकप प्रतियोगिता अर्को वर्ष श्रीलंकामा आयोजना हुनेछ । सन् २०१६ पछि नेपालले पहिलोपटक उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

सुझावित समाचार