आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि २०७ रनको लक्ष्य पाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६ रन बनाएपछि नेपालले दुई सय सात रनको लक्ष्य पाएको हो ।
युएईलाई मध्यम लक्ष्यमा रोक्ने क्रममा सन्दीपले तीन विकेट लिए । यस्तै, करण केसी, आसिफ सेख र कुशल मल्लले एक–एक विकेट लिए । युएईका दुई खेलाडी रनआउट भए ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गरेको हो । नेपालले लगातार छैटौँ म्याचमा टस जितेर लक्ष्य पछ्याउन लागेको हो । यसअघिका पाँचवटै म्याचमा नेपाल लक्ष्य पूरा गर्दै विजयी भएको छ ।
शृंखलामा सहभागी हुन हिजो मात्र युएई पुगेका सन्दीपले युएईका तीन साझेदारी तोड्दै पटकपटक ब्रेकथ्रु दिलाए । कुनै पनि रन नबनाएको अवस्गामा पहिलो ओभरमै करण केसीले युएईको पहिलो विकेट लिएका थिए ।
तर, त्यसपछि चौधौँ ओभरमा ४६ रनको अवस्थामा युएईले विकेट गुमायो । १३औँ ओभरको चौथो बलमा सन्दीपले ३८ बलमा १८ रन बनाएका वृत्य अरविन्दलाई आउट गरे । अरविन्दलाई कुशल भुर्तेलले स्लिपमा समाएका थिए ।
सन्दीपले आसिफ खान र रोहन मुस्तफाबीचको ५० रनको साझेदारी पनि तोडे । आक्रामक ब्याटिङ गर्दै ७२ रन बनाएका आसिफलाई सन्दीपले आफ्नो दोस्रो स्पेलको पहिलो ओभरमा शिकार बनाएका थिए ।
धैर्यतापूर्वक अर्धशतक बनाएपछि आसिफले निकै आक्रमक शैली देखाएका थिए । उनले करण केसीलाई एउटै ओभरमा एक छक्का र दुई चौकासहित १५ रन प्रहार गरेका थिए ।
मध्यसक्रमका आर्यन लाक्रा र रोहन मुस्तफाबीचको ५८ रनको साझेदारी पनि सन्दीपले नै तोडे । लाक्राले ३६ बलमा एक चौकाको सहायतामा २८ रन बनाए । क्लिन बोल्ड भएका उनी सन्दीपको तेस्रो शिकार बने ।
त्यसअघि आरिफ सेखले आलिसान सराफुलाई दुई रनको अवस्थामा बोल्ड आउट गरेका थिए भने ब्याटर अलराउन्डर कुशल मल्लले तेस्रो विकेटका रूपमा युएईका कप्तान चुन्दगापोयल रिजवानलाई आउट गराए । ४० बलमा एक चौकाको मद्यतमा २२ रन बनाएका रिजवानलाई कुशलले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए ।
दश ओभर बलिङ गरेका सन्दीपले २७ रन मात्र दिए । करणले सात ओभरमा ४३ रन दिँदा सोमपाल कामीले सात ओभरमा ३२ रन दिए । उनले विकेट लिन सकेनन् ।
आसिफले नौ ओभरमा ३३ रन दिएर एक विकेट लिए । यस्तै, गुल्सन झाले दुई ओभरमा १५ रन दिए । उनले पनि विकेट लिन सकेनन् । कुशल मल्लले पाँच ओभरमा १७ रन दिएर एक विकेट लिए भने दश ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३५ रन दिए । उनले पनि विकेट लिन सकेनन् ।
आज नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो । यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ ।