युएईले गुमायो पाँचौँ विकेट

आइसिसी विश्वकप लिग - २

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

युएईले पाँचौँ विकेट पनि गुमाएको छ । सन्दीप लामिछानेले दोस्रोपटक ‘ब्रेकथ्रु’ दिलाएलगत्तै आरिफ शेखले युएईको पाँचौँ विकेट लिएका हुन् । 

आरिफले आलिसान सराफुलाई दुई रनको अवस्थामा बोल्ड आउट गरे ।

त्यसअघि सन्दीपले आसिफ खान र रोहन मुस्तफाबीचको ५० रनको साझेदारी तोडेका थिए । 

आक्रामक ब्याटिङ गर्दै ७२ रन बनाएका आसिफलाई सन्दीपले आफ्नो दोस्रो स्पेलको पहिलो ओभरमा सिकार बनाएका हुन् । 

धैर्यतापूर्वक अर्धशतक बनाएपछि आसिफले निकै आक्रामक शैली देखाएका थिए । उनले करण केसीलाई एउटै ओभरमा एक छक्का र दुई चौकासहित १५ रन प्रहार गरेका थिए । 

ताजा अवस्थामा युएईले ३९ ओभरमा पाँच विकेट गुमाएर एक सय ५० रन बनाएको छ । 

यसअघि ब्याटर अलराउन्डर कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका थिए । तेस्रो विकेटका रूपमा युएईका कप्तान चुन्दगापोयल रिजवान आउट भएका हुन् । ४० बलमा एक चौकाको मद्दतमा २२ रन बनाएका रिजवानलाई कुशलले दीपेन्द्रसिंह ऐरीको हातबाट आउट गराएका हुन् । 

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको महत्वपूर्ण खेलमा नेपाल र युएई भिडिरहेका छन् । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गरिरहेको हो । 

यसअघि सन्दीप लामिछाने र करण केसीले पनि एक–एक विकेट लिएका छन् । सन्दीपले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वृत्य अरविन्दलाई आउट गरे । अरविन्दलाई कुशल भुर्तेलले स्लिपमा समाएका थिए । 

त्यसअघि पहिलो ओभरमै करण केसीले नेपाललाई सफलता दिलाएका थिए । उनले युएईका ओपनर ब्याटर मोहम्मद वसिमलाई बोल्ड आउट गरे । कुनै रन नबनाउँदै युएईले विकेट गुमाएको थियो । 

नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो । यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ ।

सुझावित समाचार