युएईविरुद्ध लगातार विकेट गुमाउँदै नेपाल, सातौँ विकेट खस्यो

यू - १९ विश्वकप छनोट

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

युएईमा जारी आइसिसी यू– १९ विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपाली युवा ब्याटर रनका लागि संघर्ष गरिरहेका छन् । 

घरेलु टोली युएईसँगको भिडन्तमा नेपालले ३९ ओभरभित्र सात विकेट गुमाइसकेको छ । विशालविक्रम केसी ३८ रन बनाएर आउट भएका छन् । 

ताजा अवस्थामा नेपालले ३९ ओभरमा सात विकेट गुमाएर एक सय ५८ रन बनाएको छ । निर्णायक खेलमा नेपालको ब्याटिङ धर्मराएको छ । नियमित अन्तरालमा विकेट गुमाएकाले नेपाल दबाबमा देखिएको हो । 

नेपालका लागि कप्तान देव खनालले अहिलेसम्म सबैभन्दा बढी ५१ रन बनाएका छन् । सुरुवाती संकटबाट टिमलाई बाहिर निकाल्नुपर्ने अभिभारा पूरा गर्दै रहेका वेला उनी २८ ओभरमा आउट भए । त्यसवेला नेपालको स्कोर एक सय १५ मात्र थियो । 

कप्तान खनालले एक छक्का र तीन चौकाको सहायतामा ७५ बलमा ५० रन बनाएका थिए । तर, अर्धशतकलाई शतकमा बदल्न उनी चुके । 

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आजको खेल जिते नेपाल आगामी वर्ष श्रीलंकामा आयोजना हुने यू– १९ विश्वकप प्रतियोगितामा सीधै छनोट हुनेछ । 

आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । 

सुझावित समाचार