नेपाललाई पहिलो ओभरमै पहिलो सफलता मिलेको छ।
आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको महत्वपूर्ण खेलमा आज नेपालले युएईको सामना गरिरहेको छ।
नेपालका करण केसीले युएईका माेहमद वासिमलाई पहिलो आभरमै आउट गरेर नेपाललाई पहिलाे सफलता दिलाएका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो।
यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ। आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ।
सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग– २ मा दुवैले अहिलेसम्म २९–२९ खेल खेलेका छन्। युएई २९ र नेपालको २८ अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन्।
नेपाल सन् २०१९ देखि सुरु भएको विश्वकप लिग– २ को शीर्ष तीनमा रहेर आगामी भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने लक्ष्यमा छ। यो अंकतालिकाको शीर्ष पाँचभित्र अटाउने टोलीले एकदिवसीय मान्यता जोगिने भएकाले कम्तीमा नेपालको त्यो लक्ष्य पनि छ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोली सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा छ। नेपालले जारी शृंखलामा पहिलो म्याचमा पपुवा न्युगिनीलाई पराजित गरिसकेको छ।