आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको महत्वपूर्ण खेलमा आज नेपालले युएईको सामना गर्दै छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो ।
यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ ।
सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग– २ मा दुवैले अहिलेसम्म २९–२९ खेल खेलेका छन् । युएई २९ र नेपालको २८ अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन् ।
नेपाल सन् २०१९ देखि सुरु भएको विश्वकप लिग– २ को शीर्ष तीनमा रहेर आगामी भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने लक्ष्यमा छ । यो अंक तालिकाको शीर्ष पाँचभित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भएकाले कम्तीमा नेपालको त्यो लक्ष्य पनि छ ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा छ । नेपालले जारी शृंखलामा पहिलो म्याचमा पपुवा न्युगिनीलाई पराजित गरिसकेको छ ।
हेड टु हेडमा युएईअगाडि
नेपाल र युएई एकदिवसीयमा यसअघि नौपटक आमनेसामने भएका छन् । युएईले पाँच र नेपालले चार खेल जितेका छन् । यसअघि लिग– २ मा यी दुईबीच दुई खेल भएका छन् । दुवै खेलमा नेपाल पराजित भएको छ ।