सन्दीपले घाइते मौसमको स्थान लिने

अभ्यासका क्रममा स्पिनर मौसम ढकालको काँधमा चोट लागेपछि बुधबार पूर्वकप्तान सन्दीप उनको स्थान लिन युएईतर्फ

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

स्पिनर मौसम ढकाल प्रशिक्षणका क्रममा घाइते भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनको स्थानमा अर्का स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्रममा युएईमा छ । बुधबार नेट अभ्यासका क्रममा स्पिनर ढकाल घाइते भएका हुन् । क्यानले तत्कालै टोलीमा स्पिनरको अभाव पूरा गर्न पूर्वकप्तान सन्दीपलाई टोलीमा समावेश गर्दै युएई पठाएको छ । 

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा बुधबार दिउँसो ३ बजेको उडानबाट सन्दीप युएई प्रस्थान गरेको कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिएका छन् । सन्दीपले सम्भवतः बिहीबार युएईसँगको खेलमा प्रतिस्पर्धा गर्न सक्छन् । तर, मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप राख्ने वा नराख्ने पक्षमा अन्तिम निर्णय लिनेछन् । मुख्य प्रशिक्षक देसाईले गरेको थ्रो डाउनमा मौसमको दायाँ काँधमा चोट लागेको छ । त्यसपछि उनको काँधमा आइस राखियो । अहिले मौसमको अवस्थाको पूरा जानकारी नेपाली टोलीले दिएको छ ।

 गत आइतबार मात्र सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएको छ । क्यानले अदालतबाट स्विकृति पाएपछि सन्दीपलाई पनि नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग छलफल गरेको थियो । आइसिसीले समेत सन्दीपलाई युएईमा रहेको नेपाली टोलीमा समावेश हुन पाउने जनाएको छ । गत पुसमा पाटनको उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । यद्यपि, अदालतले सन्दीपलाई विदेश जानमाथि रोक लगाएको थियो ।

धरौटीमा रिहा भएपछि सन्दीपले दुई साताअघि टियू मैदानमा भएको विश्वकप लिग–२ मा उत्कृष्ट प्रर्दशन गरी पुनरागमन गरेका थिए । यसक्रममा उनले चार खेलमा १३ विकेट लिए । सो सिरिजमा नेपाली टोलीबाट सर्वाधिक विकेट लिने सन्दीप थिए । त्यसपछि सन्दीपले युएईमा हुने सिरिजका लागि विदेश जान पाऊँ भनी अदालतमा निवेदन राखेका थिए । सर्वोच्च अदालतले गत आइतबार सन्दीपलाई विदेश जान पाउने फैसला गरेको थियो । 

आइसिसीसँग पत्राचार
यसअघि क्यानले युएई र पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा गर्दा सन्दीपको नाम समावेश गरेन । सन्दीप समावेश नभएको नेपालले सिरिजअन्तर्गत सोमबार पपुवा न्युगिनीलाई चार विकेटले हराएको थियो । नेपालले आइसिसी विश्वकप लिग–२ मा लगातार पाँच खेल जितको कीर्तिमान राखेको छ । 

क्यानका कार्यवाहक सचिव दुर्गाराजले सन्दीपलाई युएई पठाउन आइसिसीसँग पत्राचार भइसकेको बताए । आइसिसीसँग पत्राचार भएपछि क्यानले सन्दीपलाई सिरिजमा सहभागी हुन युएई पठाएको हो । सन्दीपले बिहीबार बिहानको नेट सेसनमा अभ्यास गर्न सक्छन् । सर्वोच्च अदालतले विदेश भ्रमण गरेर फर्किएको १५ दिनभित्र सन्दीप उपस्थित हुनुपर्ने जनाएको छ । सन्दीपलाई युएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने पाठकले बताएका छन् । ‘सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौँ’, उनले भने । 

विश्वकप लिग–२ मा यो नेपालको अन्तिम विदेश भ्रमण हो । त्यसपछि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र युएईसँग खेल्नेछ । नेपालले शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय मान्यता रक्षा गर्न अब ७ मध्ये ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदा नेपालको एकदिवसीय मान्यता बच्नेछ । यसका लागि नेपालले चार खेल जित्नुपर्ने हुन्छ । नेपाल २९ खेलमा २८ अंकका साथ छैटौँ स्थानमा छ ।

 सन्दीप र अर्जुन ‘द हन्ड्रेड’को ड्राफ्टमा समावेश
पूर्वकप्तान सन्दीप र युवा ब्याट्सम्यान अर्जुन साउद इंग्ल्यान्डमा हुने द हन्ड्रेड फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन् । तेस्रो संस्करणको प्रतियोगितामा सन्दीप र विकेटकिपर ब्याट्सम्यान विदेशी कोटाको ड्राफ्टमा परेका हुन् ।

यसअघि सन्दीप हन्ड्रेड बलमा छनोट भएका थिए । तर, भिसा प्रक्रिया ढिला भएका कारण उनले प्रतियोगिता खेल्न पाएनन् । अर्जुन पहिलोपटक हन्ड्रेडको ड्राफ्टमा परेका हुन् । प्रतियोगितामा खेल्नका लागि ड्राफ्टमार्फत छनोट हुनुपर्नेछ । द हन्ड्रेड बलको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुनसहित कुल तीन सय ६८ खेलाडी छन् । प्लेयर ड्राफ्ट २३ मार्चमा हुनेछ । प्रतियोगिता १ अगस्टमा हुनेछ । 

See More On

सुझावित समाचार