राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने भएका छन् । २५ फागुनको राष्ट्रपति निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले सरकारबारे त्यसपछि मात्रै निर्णयमा पुग्ने गठबन्धन दलका शीर्ष नेताहरूको समझदारी छ । 

सरकारको प्रवक्ता रेखा शर्माले राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइन् । ‘नयाँ गठबन्धनबाट कुन–कुन दल सरकारमा सहभागी हुने र कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुनै बाँकी छ,’ उनले भनिन्, ‘राष्ट्रपति निर्वाचनको समय पनि नजिकिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ 

प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिने प्रवक्ता शर्माले स्पष्ट पारिन् । उनले भनिन्, ‘विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिने कुरो छ । हामी निर्धारित समयभित्रै विश्वासको मत लिन्छौँ ।’ आठदलीय गठबन्धनसँग विश्वासको मत लिनका लागि पर्याप्त मत छ । कानुनी रूपमा मात्रै विश्वासको मत लिनुपर्ने भएको हो । कांग्रेसका ८८, माओवादीका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका चार, नागरिक उन्मुक्तिका तीन र जनमोर्चाका एक सांसद छन् ।

माओवादी उपमहासचिव शक्ति बस्नेतले राष्ट्रपति निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए । ‘हाम्रो सम्पूर्ण ध्यान यतिवेला राष्ट्रपति निर्वाचनमा छ । त्यसपछि मात्रै सरकारको विषयमा आवश्यक निर्णयमा पुग्छौँ,’ उनले भने । आठदलीय गठबन्धनको आवश्यकताबारे प्रस्ट्याएर अघि बढ्ने रणनीति नेताहरूको छ । त्यसका लागि संघीय सांसद र प्रदेश सांसदको छुट्टाछुट्टै र संयुक्त अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

सुझावित समाचार