पल्सर स्पोर्टस् अवार्ड मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

फागुन २३ गते आयोजना हुने १९औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड– २०७८ का लागि मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ। 

आयोजक एनएसजेएफले मंगलबार एक कार्यक्रमको आयोजना गरी वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधा गरी कुल चार विधाको मनोनयन सार्वजनिक गरेको हो। 

स्पोर्टस् अवार्ड फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।  सार्वजनिक गरिएकोमध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचीमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलरद्वय अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल अटाएका छन्। 

यस्तै, महिलातर्फको मनोनयनमा क्रिकेटरद्वय सीता रानामगर र कप्तान रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन्। वर्षका युवा खेलाडीतर्फ फुटबलका मनीष डाँगी र प्रिती राई तथा बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा अटाएका छन्।

यसैगरी वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, क्रिकेटका पूर्वप्रशिक्षक डेभ वाटमाेर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट रहेका छन्। 

यसअघि एनएसजेएफले पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक गरिसकेको छ। पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा परेका छन्।

फागुन २३ गते आयोजना हुने अवार्ड कार्यक्रमबाट विजेताको घोषणा गरिनेछ। वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीको लागि गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। 

मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा गठित कमिटीबाट विभिन्न चार विधाका खेलाडीको नाम सार्वजनिक गरिएको हो। विजेताको नाम फागुन २३ गते हुने अवार्डमा सार्वजनिक गरिनेछ। 

सुझावित समाचार