अलराउन्डर कुशल मल्ल पुनः एकपटक चम्किएका छन् । ६ दिनपछि १९ वर्ष लाग्ने यी अलराउन्डरले पुनः अर्को विकेट लिएका छन् ।
आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्युगिनीले आठौँ विकेट कुशलले लिएका हुन् ।
नोरमान भेनेईलाई कुशलले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । नोरमानले १५ बलमा २५ रन बनाए । यसक्रममा उनले दुई छक्का र दुई चौका प्रहार गरे ।
त्यसअघि रनआउटमार्फत कुशलले नै पपुवा न्युगिनीको सातौँ विकेट उडाएका थिए । बलर रायली हेक्युरलाई कुशल मल्लले रनआउट गरे । १५ बल खेलेका रायलीले सात रन बनाए ।
त्यसअघि कुशल मल्लले नै पपुवा न्युगिनीको छैटौँ विकेट लिएका थिए । कुशलले ५३ बल खेलेका कप्तान असाद भालालाई ३६ रनमा आउट गरेका थिए ।
त्यसअघि पपुवा न्युगिनीले पाँचौँ विकेट गुमाएको थियो । एकदिवसीय क्रिकेटमा डेब्यु गरिरहेका प्रतिश जिसीले करिअरको पहिलो विकेटका रूपमा पपुवा न्युगिनीको पाँचौँ विकेट लिएका थिए ।
उनले १७ बलमा १० रन बनाए हिरी हिरीलाई दीपेन्द्रसिंह ऐरीको हातबाट आउट गराए । त्यसअघि गुल्सन झाले तीन विकेट तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।
२७औँ ओभरको पाँचाैँ बलमा गुल्सनले चार्ल्स अमिनीलाई प्रतिश जिसीको हातबाट आउट गराएका थिए । यसअघि गुल्सनले नै मिडल अर्डरका ब्याटर सेसे बाउलाई ३१ रनमा बोल्ड गरेका थिए । सेसेले ५५ बलको सामना गरेपछि विकेट गुमाए ।
गुल्सनले नै नेपालका लागि दोस्रो सफलता दिलाएका थिए । १७औँ ओभरको चौथो बलमा उनले ५९ बलमा २९ रन बनाएर खेलिरहेका केप्लिन डोरेगालाई आउट गरेका थिए ।
त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको हो ।