आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्युगिनी संघर्ष गरिरहेको छ । उसले लगातार अन्तरमा विकेट गुमाएको छ ।
भर्खरै कुशल मल्लले आफ्नो पहिलो तथा पपुवा न्युगिनीको छैटौँ विकेट लिएका छन् । कुशलले कप्तान असाद भालालाई ३६ रनमा आउट गरे । ५३ बल खेलेका असादले चार चौकाको सहायतामा ३६ रन बनाएका थिए ।
त्यसअघि मात्रै पनि पपुवा न्युगिनीले विकेट गुमाएको थियो । एकदिवसीय क्रिकेटमा डेब्यु गरिरहेका प्रतिश जिसीले करिअरको पहिलो विकेटका रूपमा पपुवा न्युगिनीको पाँचौँ विकेट लिएका थिए ।
उनले १७ बलमा १० रन बनाए हिरी हिरीलाई दीपेन्द्रसिंह ऐरीको हातबाट आउट गराए । त्यसअघि गुल्सन झाले तीन विकेट तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।
२७औँ ओभरको ५औँ बलमा गुल्सनले चार्ल्स अमिनीलाई प्रतिश जिसीको हातबाट आउट गराएका थिए । यसअघि गुल्सनले नै मिडल अर्डरका ब्याटर सेसे बाउलाई ३१ रनमा बोल्ड गरेका थिए । सेसेले ५५ बलको सामना गरेपछि विकेट गुमाए ।
गुल्सनले नै नेपालका लागि दोस्रो सफलता दिलाएका थिए । १७औँ ओभरको चौथो बलमा उनले ५९ बलमा २९ रन बनाएर खेलिरहेका केप्लिन डोरेगालाई आउट गरेका थिए ।
त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको हो ।