गुल्सनको धारिलो बलिङ, पपुवा न्युगिनीको चौथो विकेट खस्यो

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

पपुवा न्युगिनीविरुद्धको जारी खेलमा गुल्सन झा चम्किएका छन् । उनको धारिलो बलिङका सामु पिएनजीका ब्याटर टिक्न मुस्किल परिरहेको छ । 

एकपछि अर्को विकेट लिने क्रममा गुल्सनले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिएका छन् । 

२७औँ ओभरको पाँचाैँ बलमा गुल्सनले चार्ल्स अमिनीलाई प्रतिश जिसीको हातबाट आउट गराए । 

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा  अहिलेसम्मको अवस्थामा पपुवा न्युगिनीविरुद्ध नेपाली बलर हाबी देखिएका छन् । 

३२ ओभरको खेल सकिँदा पपुवा न्युगिनीले चार विकेट गुमाएर एक सय १४ रन बनाएको छ । 

यसअघि गुल्सनले नै मिडल अर्डरका ब्याटर सेसे बाउलाई ३१ रनमा बोल्ड गरेका थिए । सेसेले ५५ बलको सामना गरेपछि विकेट गुमाए । 

गुल्सनले नै नेपालका लागि दोस्रो सफलता दिलाएका थिए । १७औँ ओभरको चौथो बलमा उनले ५९ बलमा २९ रन बनाएर खेलिरहेका केप्लिन डोरेगालाई आउट गरेका थिए ।

त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे । 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको हो । सोमपाल, करण केसी, दीपेन्द्रसिंह ऐरीले पनि निकै कसिलो बलिङ गरिरहेका छन् । 

नेपालले आज चारजना सिमरलाई मैदानमा उतारेको छ । सोमपाल, करणसँगै आजै एकदिवसीयमा डेब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसीले पनि बलिङ कमान्ड सम्हालेका छन् ।

सुझावित समाचार