आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पपुवा न्युगिनीविरुद्ध नेपाली बलर हाबी हुन थालेका छन् ।
२४औँ ओभरको खेल चलिरहँदा पपुवा न्युगिनीले तेस्रो विकेट गुमाएको छ । गुल्सन झाले व्यक्तिगत दोस्रो विकेट लिएका छन् ।
उनले मिडल अर्डरका ब्याटर सेसे बाउलाई बोल्ड गरे । ५५ बल सामना गरेका उनले ३१ रन बनाए ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ । उसले २५ ओभरमा ९३ रन बनाएको छ ।
गुल्सनले नै नेपालका लागि दोस्रो सफलता दिलाएका थिए । १७औँ ओभरको चौथो बलमा उनले ५९ बलमा २९ रन बनाएर खेलिरहेका केप्लिन डोरेगालाई आउट गरेका थिए ।
त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे ।
अहिलेसम्म सोमपाल, करण केसी, दीपेन्द्रसिंह ऐरीले निकै कसिलो बलिङ गरिरहेका छन् ।
नेपालले आज चारजना सिमरलाई मैदानमा उतारेको छ । सोमपाल, करणसँगै आजै एकदिवसीयमा डेब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसीले पनि बलिङ कमान्ड सम्हालेका छन् ।