एभेनियर बुढासुब्बा गोल्डकपको अन्तिम चारमा

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

२३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा क्यामरुनको टोली एभेनियर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान–१६ स्थित रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा एभेनियरले बागमती युवा क्लबलाई १–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।

खेलको १४औँ मिनेटमा सावबा अलीले एभेनियरलाई १–० को अग्रता दिलाएका थिए । अलीले कप्तान गिनीको पासमा डिबक्सभित्र सहज गोल गरे । खेलअवधिभर थप गोल भएन । बागमती युवा क्लबले आधा दर्जन अवसर खेर फाल्यो ।

खेलमा बागमतीका आयुष राना म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ पाए । प्रतियोगिताअन्तर्गत सोमबार झापाको केएफटिसी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । २० फागुनसम्म चल्ने प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् । 

सुझावित समाचार