३ प्रश्न

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

पछिल्लो राजनीतिक परिदृश्यलाई कसरी हेर्नुभएको छ ?
पछिल्लो निर्वाचन परिणामपछि जतिखेर जसरी यो सरकार बन्यो त्यो अप्रत्याशित र अपर्झट बनेको थियो । निर्वाचनअघिको गठबन्धनले निरन्तरता पाएर सरकार बन्नुपर्ने अवस्थामा अचानक चारतिर फर्किएका दलहरू मिलेर बनेको नयाँ गठबन्धनले आफ्नो जन्मसँगै अस्थिरताको बीजारोपण गरेको थियो । सरकारको दुईमहिने कार्यकालले पनि त्यसलाई प्रमाणित गर्यो । फरक–फरक मूल्य र मान्यता बोकेका दलहरू सँगै जान कठिन हुनेरहेछ भन्ने पनि यसले प्रमाणित गरेको छ । 

गठबन्धन संस्कृतिको भविष्य कस्तो देख्नुहुन्छ ?
हामीकहाँ कुनै पनि गठबन्धन देश र जनताको हितमा भन्दा पनि दल र नेतृत्वको भागबन्डा र स्वार्थमा केन्द्रित देखिने गरेका छन् । हिजोको गठबन्धन बन्दा पनि त्यसैको झझल्को देखियो । अहिले नयाँ गठबन्धन बन्दैगर्दा पनि बाहिरबाहिर जे–जे भनिए, सुनिए पनि सत्तास्वार्थ र भागबन्डा नै यसको अन्तर्य देखिन्छ । पुरानो गठबन्धनका कमीकमजोरी र अप्ठ्याराबाट शिक्षा लिएर निर्वाचनअघिका आफ्ना वाचा पूरा गर्ने दिशामा अघि बढ्यो भने यो गठबन्धन टिक्न सक्छ नत्र यसै भन्न सकिन्न ।

देशको अबको राजनीतिले कुन बाटो समाउला ?
कुनै एउटै दलमा शक्तिकेन्द्रित हुन नदिने मनसायले अहिलेको गठबन्धन अगाडि आएको देखिन्छ । हिजो प्रधानमन्त्री र राष्ट्रपति दुवै तत्कालीन नेकपा या पछिको एमालेबाट हुँदा देशको राजनीतिमा अनेक समस्या देखिए । त्यसलाई दोहोरिन नदिन शक्ति पृथकीकरणका लागि यो प्रयास ठीकै देखिन्छ । तर, हिजोको गठबन्धनको भन्दा अहिलेको गठबन्धनको आधारभूत चरित्रमै फेरबदल भइहाल्ने परिदृश्य भने देखिइसकेको छैन । 

सुझावित समाचार