जीवनको मूल्य

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

नयाँ शैक्षिक वर्षको सुरुवाती कक्षामा एक शिक्षिका आफ्ना विद्यार्थीसामु एउटा सय डलरको नोट लिएर प्रस्तुत हुन्छिन् । उनी विद्यार्थीलाई भन्छिन्, ‘जसलाई यो नोट चाहिएको छ, उनीहरूले हात उठाओ ।’

कक्षाकोठामा रहेका हरेक विद्यार्थीले आफ्नो हात उठाउँछन् । त्यसपछि शिक्षिक भन्छिन्, ‘तिमीहरूले सबैले हात उठयौ ! ठिक छ म नोट तिमीहरूमध्ये कुनै एक विद्यार्थीलाई दिउँला, तर त्यसभन्दा अघि मलाई एउटा काम गर्न देऊ ।’ शिक्षिकाले त्यो एक सय डलरको नोटलाई हातले कच्याकुचुक बनाउँछिन् र उक्त नराम्ररी खजमजिएको नोट विद्यार्थीहरूतर्फ देखाउँदै सोध्छिन्, ‘अब यो नोट को चाहन्छ ?’ फेरि पनि सबै विद्यार्थीको हात माथि उठ्छ ।

त्यसपछि शिक्षिकाले उक्त नोटलाई भुइँमा खसाल्छिन् र त्यसलाई कुल्चिन्छिन् । नोट धुलोमा लटपटिएको हुन्छ । उनी विद्यार्थीलाई फेरि सोध्छिन्, ‘अब पनि कसैलाई चाहिन्छ ?’ विद्यार्थीका हात पुनः उसैगरी माथि उठ्छन् । ‘विद्यार्थीहरू मलाई आशा छ, अहिले यहाँ तिमीहरूले एउटा महत्वपूर्ण पाठ सिक्यौ होला । मैले यो नोटलाई के गरेँ भन्ने कुराले पैसाको मूल्यमा कुनै फरक पार्यो त ? पारेन । अझै पनि यो नोटलाई जो कसैले यही मूल्यमा स्विकार्छ । 

यो जति खजमजिएको भए पनि र जति मैलो भए पनि यसको मूल्य उही सय डलर नै रहन्छ,’ शिक्षिका भन्छिन्, ‘हो, हाम्रो अवस्था पनि यस्तै हो । तिमीहरूको जीवनमा यस्ता समय आउनेछन् । कुनै समय तिमीहरू पछारिनेछौ, कुनै समय चोट लाग्नेछ । तर, जेसुकै भए पनि तिमीहरूले आफ्नो मूल्यलाई यो नोटले जस्तै कहिल्यै गुमाउनुहुन्न ।’

जीवनमा कठिनाइ अपरिहार्य छन् । हामी सबैले जीवनमा कुनै न कुनै बिन्दुमा कठिन परीक्षाबाट गुज्रिनुपर्नेछ । भलै हाम्रो कुनै दोष नहोस् तर हामीले त्यसको अपजस र दुःख भोग्नुपर्ने हुन सक्छ । तर, जीवनका यी चुनौतीहरूमा हामीले आफ्नो मूल्य अर्थात् महत्वलाई परिवर्तन हुन दिनुहँुदैन । हामी सबैसँग यो संसारलाई दिन केही न केही अद्वितीय र विशेष चिज छन् ।

सुझावित समाचार