संकटाविरुद्ध कठिन जित निकाल्दै आर्मी फाइनलमा

आर्मीका चेतन केसीले खेलको अतिरिक्त समयको ११औँ मिनेटमा गोल गरेपछि संकटा १–० ले पराजित

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

संकटा क्लबविरुद्ध कठिन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर–झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चेतन केसी नायक बन्दा संकटालाई १–० ले पराजित गर्दै आर्मीको ‘बी’ टोली उपाधिनजिक पुगेको हो । आर्मीको ‘ए’ टोलीले केपी ओली कप खेलिरहेको छ । अब आर्मीले उपाधिका लागि मंगलबार मच्छिन्द्र र अर्काे विभागीय टोली एपिएफ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र र एपिएफबीच आज खेल हुनेछ । 

शनिबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त १४ मिनेटको थप समय खेलाइएको थियो । अतिरिक्त समयको ११औँ मिनेटमा गोल गर्दै चेतनले आर्मीको जित निश्चित गरे । चेतन आर्मीको दोस्रो रोजाइका खेलाडी हुन् । उनले पहिलो रोजाइका जितेन्द्र कार्कीलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

दायाँ बक्सनजिकै संकटाका सौरभ दासले प्रज्वल गुरुङलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको थियो । आर्मीका सन्तोष केसीले प्रहार गरेको फ्रिकिक बललाई बक्सभित्रबाट चेतनले दोस्रो बारमा हेड गोल गरे । जितसँगै आर्मीले कम्तीमा ७ लाख रुपैयाँ सुरक्षित गरेको छ । खेलको प्लेयर अफ दी म्याच आर्मीका सुरज बस्नेत घोषित हुँदै नगद २० हजार प्राप्त गरे । 

मच्छिन्द्र र एपिएफले यो सिजनमा एक–एक उपाधि जितेका छन् । मच्छिन्द्रले भर्खरै सर्लाहीमा सम्पन्न राजर्षि जनक कपको उपाधि हात पारेको छ भने एपिएफले नवलपरासी पश्चिममा भएको सूर्यनगर गोल्डकपको उपाधि जितेको थियो । यो सिजनमा आर्मी भने उपाधिविहीन छ । उसले भद्रपुर–झापा गोल्डकपको उपाधिका लागि संघर्ष गरिरहेको छ । यद्यपि, नाम चलेका खेलाडीविनै मैदानमा उत्रिएको आर्मीले विगतमा जस्तो प्रदर्शन गर्न सकेको छैन । ए डिभिजन लिगको पूर्वसन्ध्यामा भएको यो प्रतियोगितालाई निकै महŒवको रूपमा लिइएको छ । प्रतियोगितामा सहभागी ए डिभिजन क्लबहरूले यसलाई तयारीका रूपमा लिइरहेका छन् । 

सुझावित समाचार