नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा विशुद्ध खेलकुद गतिविधि हुनुपर्ने हो । तर, यहाँ खेलकुद गतिविधि नभएर वेला–वेलामा हुने सांस्कृतिक कार्यक्रम तथा दीक्षान्त समारोहले रंगशालाको मौलिकता बिस्तारै हराउँदै गइरहेको छ । यसै रंगशालामा १९ फागुनदेखि फुटबलकै मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले तेस्रो प्रयासमा ए डिभिजन लिग आयोजना गर्न लागेको हो ।
लिग सञ्चालनका लागि एन्फाले महिनौँदेखि मैदानको लेभलदेखि मैदानलाई हरियो बनाउने काम गरिरहेको छ । तर, लिग सुरु हुन १० दिनअगाडि दशरथ रंगशालामा एक भारतीय कम्पनीले ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ आयोजना गर्यो । गत मंगलबार सार्वजनिक बिदा मिलाएर रंगशालामा कन्सर्ट भयो । भारतीय कम्पनीले आयोजना गरेको कन्सर्टमा १० हजार दर्शकको उपस्थिति थियो ।
आयोजकले कन्सर्ट भव्य बनाउन पश्चिमतिरको प्यारापिटमा मुख्य स्टेज बनाएको थियो । स्टेज बनाउनेक्रममा त्यसमा प्रयोग हुने फलामका सामग्री हरियो दुबो भएको मैदानमा गाडिएको थियो । यसले मैदानको एक खण्ड नै बिग्रिएको छ । महँगो टिकट काटेर मैदानमा उपस्थित भएका दर्शक कन्सर्टका क्रममा उफ्रँदा दुबो मासिएको छ । स्टेज लगाएको स्थान र सांगीतिक कार्यक्रमको मनोरञ्जन लिएका दर्शक मैदानमै उफ्रेको अधिकांश स्थानका दुबो कालो भएको छ ।
यसैगरी, दक्षिणतर्फको कर्नर भाग र मैदानको मध्यभागको दुबो पूरै बिग्रिएको छ । जुन दुबो अब पुरानै स्वरूपमा आउन वा उम्रन केही साता लाग्ने निश्चित छ । यसले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई पक्कै पनि असर गर्नेछ । यस्तै बिजोग भएको मैदानमा फुटबल खेलाडीले खेल्नेछन् ।
स्मरण रहोस्, एक दशकअघि क्यानेडियन स्टार गायक ब्रान्ड एडमको कन्सर्ट आयोजना हुँदा मैदान पूरै ध्वस्त भएको थियो । त्यसवेला राखेपले एडमको कन्सर्ट आयोजना गर्न १० लाख भाडा लिएको थियो । सो कन्सर्टका कारण केही सातापछि सुरु भएको अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितासमेत प्रभावित भएको थियो ।
परिषद्ले उठायो २० लाख
दशरथ रंगशालामा मुख्य गरी राष्ट्रिय खेलकुद परिषद्कै स्वामित्व रहन्छ । रंगशालामा हुने प्रत्येक गतिविधि सञ्चालन गर्न आयोजकले परिषद्को स्वीकृति लिनुपर्छ । परिषद्को स्वीकृतिविना यहाँ कुनै पनि गतिविधि गर्न पाइँदैन । परिषद्ले खेलकुद गतिविधिबाहेक अन्य प्रयोजनका लागि प्रतिदिन निश्चित भाडा शुल्क तोकेको छ । परिषद्ले भारतीय कम्पनीलाई आयोजना गर्न दिएको कन्सर्टका निमित्त २० लाख भाडा उठाएको छ । साथै, स्टेज बनाउँदा ५० हजार रुपैयाँ थप शुल्क लिएको राखेप सामान्य प्रशासन शाखा प्रमुख शारदा दाहालले नयाँ पत्रिकालाई बताइन् ।
सन् २०१९ मा यसै रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना भएको थियो । सागकै लागि रंगशालाको पुनर्निर्माण भएको थियो । चिनियाँ कम्पनीले एथलेटिक्स धावक दौडने ट्र्याक, फ्लर्ड लाइट तथा स्किन बोर्ड बनाएको थियो । ०७२ सालमा गएको विनाशकारी भूकम्पपछि यो रंगशाला ध्वस्त भएको थियो । रंगशालाको पुनर्निर्माणपछि यहाँ विभिन्न खेलकुद प्रतियोगिता सञ्चालित भएका छन् ।
खेलाडीको चिन्ता प्रकट
फुटबल हुनुपर्ने मैदानमा कन्सर्ट भएपछि एन्फा र खेलाडीले चिन्ता जनाएका छन् । एन्फाले लिग र विभिन्न प्रतियोगिता गर्न मैदानको दुबो सुन्दर बनाउन तीन कर्मचारीलाई तलब खुवाउँदै आएको छ । लिगकै लागि एन्फाले मैदान हरियो बनाइराख्न पाँच चरणमा १६ खेल मात्रै दशरथ रंगशालामा खेलाउने तालिका तयार पारेको छ । पछिल्लो समय फुटबल समर्थकले मैदान हरियो बनाउन एन्फालाई दबाब दिँदै आएका छन् । ‘हामीले फुटबलकै लागि भनेर यो मैदान जोगाउँदै आएका छौँ । तर, राखेपले सामान्य आम्दानीका लागि यसरी मैदान भाडामा दिनु भएन,’ एन्फा स्रोत भन्छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विक्रम लामाले मैदानमा कन्सर्ट भएपछि सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । ‘यहाँको नीतिअन्तर्गत खेल नपरेको हो कि, खेलअन्तर्गत नीति बनाउन नसकिएको हो, बुझ्न नसकिने रहेछ ।’ एन्फाअन्तर्गत खेलाडी संघको अध्यक्षसमेत रहेका लामाले लेखेका छन्, ‘कार्यक्रम गर्नु समस्या पक्कै होइन, तर कार्यक्रम तथा खेलबीचको समयावधि र कार्यक्रमपश्चात्का मर्मतसम्भारको व्यवस्थापन रु’ एन्फा प्रवक्ता सुरेश शाह सरकारले रंगशाला के प्रायोजनका लागि बनाएको हो, सोहीअनुसार प्रयोग गर्न दिँदा राम्रो हुने बताउँछन् । ‘जुन उद्देश्यका निमित्त रंगशाला बनाइएको हो, त्यही उद्देश्यका लागि प्रयोग गर्दा राम्रो हुन्छ । फुटबल र एथलेटिक्सका लागि प्रयोग हुँदा राम्रो थियो,’ शाहले भने, ‘राष्ट्रिय छवि बोकेको स्थानमा यस्तो कार्यक्रम गर्न दिँदा गलत छवि बस्छ, बाहिर देखिँदा पनि राम्रो देखिँदैन । यो कुरामा राखेप गम्भीर हुनुपर्छ ।’
मैदान स्टाफको विषयमा विवाद
राखेपले मैदानको दुबोदेखि लिएर विभिन्न संरचना बनाउन र सुरक्षार्थ कार्मचारी खटाएको छ । दशरथ रंगशालामा दुबो स्तरीय बनाउनसमेत जनशक्ति खटाएको शाखा प्रमुख दाहाल बताउँछिन् । तर, एन्फा राखेपको भनाइमा सहमत छैन । एन्फाले मैदान मर्मतसम्भारदेखि अन्य कार्यका लागि दैनिक तीन कर्मचारीलाई तलब दिएर राखेको जनाएको छ ।
आवश्यकताअनुसार बढी कर्मचारी मैदान बनाउन एन्फाले थप कर्मचारी खटाएको अवस्था छ । ‘राखेपले सधैँ दुई–तीनजना मैदान स्टाफ खटाएको भनेको छ । तर, यहाँ कोही पनि आएका छैनन्,’ एन्फाको एक मैदान स्टाफ भन्छन्, ‘दैनिक यहाँ हामीले नै मैदानको हेरचाह गरिरहेका छौँ, राखेपले खटाएका उहाँहरू कोही पनि मैदान बनाउन आउनुहुन्न,’ स्टाफ स्रोत नयाँ पत्रिकासँग भन्छ ।
खेल संघलाई निःशुल्क प्रयोग
राखेपले खेल संघहरूलाई मैदान निःशुल्क प्रयोग गर्न दिँदै आएको छ । यद्यपि, मैदान निर्माणको कार्य संघ आफैँले गर्नुपर्नेछ । यस्तै, पूर्वाधारमा तल–माथि भए सम्बन्धित संघले नै त्यसको जिम्मेवारी लिनुपर्छ । राखेपले मैदानको फ्लर्ड लाइट एक दिन प्रयोग गरेबापत २५ हजार र स्कोर बोर्ड तथा साउन्ड सिन्टमको समान ५ हजार लिँदै आएको शाखा प्रमुख दाहालले बताइन् । यद्यपि, एन्फासँग स्कोर बोर्ड र फ्लर्ड लाइटको मात्रै भाडा राखेपले उठाउँदै आएको छ ।
साउन्ड सिस्टमको भाडा राखेपले लिएको छैन । एन्फाले फुटबलमा आउने दर्शकबाट उठाएको टिकट राखेपलाई नबुझाउने दाहालले बताइन् । यसैगरी, एथलेटिक्स आयोजना हुँदा दैनिक ३५ हजारदेखि एक लाखसम्म शुल्क उठाउँदै आएको छ । तर, राखेपको बोर्ड निर्णयबाट पारित भए सशुल्क रंगशाला भाडामा दिँदै आएको दाहाल बताउँछिन् । यता, राखेपले एन्फालाई च्यासल मैदान ए डिभिजन लिगका लागि निःशुल्क प्रयोग गर्न दिएको छ ।
राखेप भन्छ– रंगशाला सबैको हो
रंगशालाको स्वामित्व ग्रहण गरिरहेको राखेपले भने दशरथ रंगशाला खेल संघको मात्रै नभएर सरोकारवाला सबैको भएको दाबी गरेको छ । राखेप सामान्य प्रशासन शाखा प्रमुख दाहालले फुटबल नभएको समयमा कन्सर्ट आयोजना गर्न दिएको बनाइन् । ‘एन्फाले हामीलाई लिग २३ पुसबाट हुने भनेको थियो । तर, लिग समयमा भएन । रंगशाला खाली थियो । यो सरकारी रंगशाला हो,’ दाहालले भनिन्, ‘सबै संघसंस्थाले प्रयोग गर्न पाउँछन् । त्यसका लागि निश्चित शुल्क तोकिएको छ । सोहीअनुसार हामीले कन्सर्ट आयोजना गर्न दिएका हौँ ।’ राखेपले एक दिन मैदान प्रयोग गरेबापत २० लाख भाडा लिने गरेको उनले बताइन् ।