पाहुनालाई ‘भाङ्गो’ उपहार

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

बाग्लुङका ग्रामीण क्षेत्रमा अधिकांश किसानको बारीमा भाङ्गो उत्पादन हुन्छ। विशेष गरी अचार र चटनीका लागि स्वादिलो हुने भाङ्गो अहिले बाग्लुङवासीले पाहुनालाई उपहारका रूपमा प्रदान गर्ने गरेका छन्। सामाजिक संस्था लायन्स क्लबले बाग्लुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिएको छ।

लायन्स क्लब डिस्ट्रिक ३२५ जे को बाग्लुङमा भएको क्याबिनेट बैठकमा सहभागी हुन आएका पाहुनालाई जिल्लामा उत्पादिन भाङ्गो उपहार दिइएको क्याबिनेट बैठकका संयोजक नरेश कँडेलले बताए। बैठकमा देशका विभिन्न ठाउँबाट ७०० प्रतिनिधि आएका छन्। ‘यहाँको भाङ्गोको प्रचारप्रसार र ब्रान्डिङ पनि होस् भन्ने हाम्रो चाहना हो,’ संयोजक कँडेलले भने, ‘एक लाख रुपैयाँको भाङ्गो किनेर प्रदान गरेका छौँ। हरेक प्रतिनिधिको झोलामा कम्तीमा एक माना भाङ्गो राखेर उपहारस्वरूप प्रदान गरेका छौँ।’

उपहार दिनका लागि ताराखोला, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाट भाङ्गो किनिएको हो। यसरी उपहार दिँदा केही आर्थिक भार परे पनि यहाँको स्थानीय उत्पादनको प्रवर्द्धन हुने कँडेलको विश्वास छ। कार्यक्रममा यहाँका अन्य स्थानीय उत्पादनहरूको समेत प्रवर्द्धन गरिएको छ।

See More On

सुझावित समाचार