देशभरका कानुन व्यवसायी महिलाको सम्मेलन आजबाट वीरगन्जमा सुरु

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

देशभरका महिला कानुन व्यवसायीको ३०औँ राष्ट्रिय सम्मेलन आजबाट वीरगन्जमा सुरु भएको छ । यहाँको घन्टाघरदेखि आदर्शनगरसम्म प्रभातफेरीसँगै शुक्रबारदेखि सम्मेलनको सुरुवात भएको हो । 

सम्मेलनमा देशभरबाट तीन सयभन्दा बढी महिला कानुन व्यवसायीको सहभागिता रहेको नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले जानकारी दिइन् । यद्यपि, हालसम्म कानुन व्यवसायीका रूपमा बार काउन्सिलमा सूचीकृत महिला कानुन व्यवसायीको संख्या भने तीन हजार हाराहारी छ । 

‘पेसागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनले मुलुकमा महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, संघीय संरचनमा महिला सहभागिता, पेसागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायतका विषयमा अवधारणापत्र र कार्ययोजनामाथि छलफल गर्ने जनाइएको छ ।

यस सम्मेलनको उद्घाटन बिहान ११ बजे कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गर्दै छन् । शनिबार घोषणापत्र जारी गर्दै सम्मेलनको समापन हुनेछ । नेपाल बारमा नयाँ कार्यसमिति आएसँगै बारले देशभरका महिला कानुन व्यवसायीको सम्मेलन हुँदै आएको छ । 
 

सुझावित समाचार