साबिक विजेता सुवासले लिए अग्रता

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको सूर्य नेपाल वेस्टर्न ओपनको बिहीबार दोस्रो दिन साबिक विजेता तथा एमेच्योर खेलाडी सुवास तामाङ चार अन्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा उक्लिएका छन् । पोखराको ६९ पारको हिमालयन गल्फ कोर्समा प्रतियोगितामा ३६ होलको समाप्तिपछि समग्रमा एक अन्डर एक सय ३७ स्कोरसहित सुवासले पहिलो दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन् । 

भुवनले समग्रमा इभन–पार खेल्दै एक सय ३८ को स्कोर गर्दै दोस्रो स्थान रक्षा गरेका छन् । समग्रमा एक ओभर एक सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्त रूपमा तेस्र्रो स्थानमा छन् । रामेले एक अन्डर ६८ र सञ्जयले इभन पार ६९ स्कोरको कार्ड बनाए । नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राईले दलबहादुर लामासँग समग्रमा चार ओभर एक सय ४२ स्कोरसहित संयुक्त रूपमा पाँचौँ स्थान बाँडे । शुक्रले इभन पार ६९ र दलले दुई ओभर ७१ स्कोर गरे । समग्रमा पाँच ओभर एक सय ४३ कार्ड बनाएका जयराम श्रेष्ठ सातौँ स्थानमा छन् । 

राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले पाँच ओभर ७४ स्कोरको खराब प्रदर्शन गर्दा आठौँ स्थानमा तल झरे । एमेच्योरतर्फ उनी दोस्रो स्थानमा छन् । पहिलो दिन तीन ओभरको प्रदर्शनसहित सातौँ स्थानमा रहेका सुवासले दोस्रो दिन लय समाते । उपाधि रक्षा गर्ने सम्भावनालाई जीवितै राख्ने क्रममा उनले आठौँ होलमा बर्डीको मद्दतले फ्रन्ट नाइन एक अन्डर ३३ को कार्ड लेखाए । ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औँ होलको बोगीका विरुद्ध चार बर्डी प्रहार गरे । 

सुझावित समाचार