सन्दीपरहित नेपाली टोलीको घोषणा

कानुनी प्रक्रिया नमिलेपछि क्यानले घरेलु मैदानमा सर्वाधिक १३ विकेट लिएका सन्दीपविना नै युएई भ्रमणमा जाने टोलीको घोषणा गरेको छ

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्दै बिहीबार नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । नेपालले आइसिसी पुरुष विश्वकप त्रिकेट लिग २ अन्तर्गत युएईमा शृंखला खैल्दै छ । सोही शृंखलामा सहभागी हुन क्यानले १५ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा पूर्वकप्तान सन्दीपलाई बाहिर राखेको हो । क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीपको स्थानमा प्रतिश जिसीलाई राखेको छ । आसन्न शृंखलामा नेपालले युएई र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक एकदिवसीय प्रतियोगिता खेल्नेछ । 

नेपालले १५ फागुनमा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमण सुरु गर्नेछ । १८ फागुनमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि १९ फागुनमा पपुवा न्युगिनी र २२ फागुनमा नेपालको अन्तिम खेल घरेलु टोली युएईसँग हुनेछ । नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालत पाटनले २८ पुसमा २० लाख रुपैयाँ धरौटीमा सन्दीपलाई थुनामुक्त गर्न आदेश दिएको थियो । 

२९ पुसमा सन्दीप २० लाख धरौटीमा रिहा भए । यद्यपि, उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो । क्यानले धरौटीमा रिहा भएका सन्दीपलाई यसै साता सम्पन्न भएको लिग २ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलमा टोलीमा समावेश गरेको थियो । बलात्कार अभियोग लागेका खेलाडीलाई टोलीमा राख्दा क्यानले चर्को आलोचना खेप्नुपरेको थियो । 

कानुनी प्रक्रिया नमिलेपछि सन्दीपलाई बाहिर राख्दै टोली घोषणा गरेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकालाई बताएका छन् । ‘हामीले अन्तिम समयसम्म सन्दीपलाई कुरेका हौँ, कानुनी प्रक्रिया नमिलेपछि उनलाई बाहिर राख्दै टोली घोषणा गर्यौँ,’ पाठकले भने, ‘अदालतले विदेश जान रोक लगाएको छ, तर क्रिकेटमा रोक लगाएको छैन ।’ 

 सन्दीप नहुँदा फरक पर्छ : रोहित
बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा बिदाइ समारोहपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले लेग स्पिनर सन्दीप नहुँदा फरक पर्ने बताएका छन् । ‘पक्कै पनि सन्दीप नहुँदा टोलीमा यसको असर पर्छ,’ पौडेलले भने, ‘उनी टोलीकै महत्वपूर्ण खेलाडीमा पर्छन् ।’ सन्दीपको अनुपस्थितिमा अन्य सिनियर खेलाडीले जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ छ । ‘सन्दीप नहुँदा अब अन्य सिनियर बलर स्पिनरहरूले त्यो भूमिका पूरा गर्नुपर्यो,’ उनले भने ।

 सन्दीपको पेसी आज 
पूर्वकप्तान सन्दीपले विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न सर्वोच्च अदालतमा दिएको निवेदनमाथि शुक्रबार पेसी तोकिएको छ । पाटन उच्च अदालतले गरेको फैसलालाई आंशिक बदरको माग राख्दै उनले सर्वोच्चमा निवेदन दिएका हुन् । 

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । यसै कारण युएईमा खेल्न जाने नेपाली राष्ट्रिय टोलीमा उनी छैनन् । सन्दीपले आफूमाथिको रोक हटाएर युएई जाने अनुमतिको आग्रह गरेका छन् । अदालतबाट विदेश जान पाउने आदेश आए सन्दीप युएई जान पाउँछन् । 

अदालतको फैसलाअनुसार घोषित टोली फेरबदल हुन सक्ने क्यानका कार्यवाहक सचिव पाठकले बताएका छन् । ‘अदालतले सन्दीपलाई विदेश जान नपाउने भन्यो भने अहिलेकै घोषित टोलीले युएईमा प्रपिस्पर्धा गर्नेछ,’ पाठकले भने, ‘यदि सन्दीप विदेश जान पाउने भए आइसिसीलाई सबै जानकारी गराउँदै तत्कालै उनलाई टोलीमा राख्ने प्रक्रिया हामी 
अगाडि बढाउँछौँ ।’

 दुई लाख पुरस्कार घोषणा
युएई प्रस्थान गर्ने टोलीलाई बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा एक कार्यक्रमबीच बिदाइ तथा सम्मान गरेका छन् । प्रधानमन्त्री दाहालले घरेलु मैदानमा विश्वकप लिग २ शृंखला ‘क्लिनस्विप’ गरेको टोलीलाई बधाई दिएका छन् । उनले प्रतियोगितामा उच्च प्रदर्शन गरेको भन्दै प्रत्येक खेलाडीलाई जनही दुई लाखसहित पुरस्कार गर्ने घोषणा गरेका छन् । 

‘खेल क्षेत्र शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यका निम्ति मात्र नभई राष्ट्रको प्रतिष्ठासँगै समग्र अर्थतन्त्रसँग जोडिन्छ,’ प्रधानमन्त्री दाहालले बिदाइ कार्यक्रममा भने, ‘कूटनीतिक क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको छ, नेपाली टोलीको सफलताका लागि हृदयदेखि धन्यवाद र बधाई दिन चाहन्छु ।’ 

सुझावित समाचार