प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग– २ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।
खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिन स्विप गर्नुभएको छ। यो देशकै गौरव हो ।’
खेलाडीहरूका कारण देशकै गौरब र प्रतिष्ठा बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी प्रतिस्पर्धाका लागि समेत शुभकामना दिए । खेल क्षेत्रलाई सामान्य रूपमा हेर्न नहुने प्रस्ट्याउँदै उनले भने, ‘पहिलापहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन । अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखाले हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै वेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे ।