उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँयाउने विषय टुंगोमा पुगिनसकेको बताएका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरूसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको स्पष्ट पारे ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी भएपछि उनले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरूसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिए ।
‘पुरानो गठबन्धन ब्युँताउने विषयमा त्यस्तो केही पनि सहमति भइसकेको छैन । हामीले अरू शक्तिहरूसँग पनि छलफल जारी राखेका छौँ । त्यसो त हाम्रो पार्टीका अध्यक्ष, नेकपा एमालेका अध्यक्ष लगातार छलफलमा हुनुहुन्छ । त्यहाँ पनि टुंगिसकेको स्थिति छैन । हामीले नेपाली कांग्रेससँग पनि हिजो छलफल गर्याैँ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि छलफल गर्नुपर्छ भनेर त्यही बैठकमा भनेका छौँ । त्यसो त जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सबै राष्ट्रिय पार्टीहरूसँग छलफल गरेर हामी निष्कर्ष पुग्छौँ,’ उनले भने ।