घरेलुदेखि अन्तर्राष्ट्रिय मैदानमा अब्बल विष्ट

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली फुटबलमा अन्जन विष्ट ०७९ सालमा खुबै छाए । घरेलुदेखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासम्म विष्टले आफ्नो उत्कृष्ट कौशल देखाए । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्धको विष्टको निर्णायक गोल अहिले पनि कसैले बिर्सेका छैनन् ।

लिग चरणको अन्तिम खेलमा बराबरी वा जित निकाल्दा नेपाल फाइनल पुग्ने समीकरण बनेको थियो । हारमा नेपाल प्रतियोगिताबाट बाहिरिने थियो । प्रतिस्पर्धामा नेपाल एक गोलले पछाडि थियो । 

खेलको ८८औँ मिनेटमा विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ऐतिहासिक रूपमा फाइनल पुर्याए । त्यही साफ प्रतियोगितामा विष्ट एक नायक खेलाडीका रूपमा उदय भए । तनावपूर्ण स्थितिमा विष्टले गरेको महत्वको गोल अहिलेसम्म बिरलैले मात्र गरेको होला । यसै प्रदर्शनका आधारमा उनी नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि मनोनयमा परेका छन् । 

उपाधिका लागि विष्टले क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामासँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी किरण लिम्बू र रोहित चन्द खेलजीवनको उत्तराद्र्धमा छन् । 

यही वेला आफ्नो  खेलजीवनको उत्कर्षमा छन्, विष्ट । अहिले विष्टलाई बढीभन्दा बढी मत दिएर पिपुल्स च्वाइस अवार्डको विजेता बनाउने जिम्मेवारी फुटबलप्रेमीको हो । प्रत्येक अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विष्टले अहिले राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि ११ गोल गरिसकेका छन् । 

सुझावित समाचार